मोरङ । जिल्लाको बूढीगंगा गाउँपालिका ४ प्रगति टोलमा भारतीय ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार बिहान आर.जे.२९ जी.बी. १५६१ नम्बरको भारतीय ट्रक पल्टिएको थियो । बालबालिकाहरू आफ्नो घरको आँगनमा बसिरहेका थिए । निधन हुनेमा एकै परिवारका दुई जना रहेका छन् ।
निधन हुनेहरूमा बूढीगंगा गाउँपालिका ४ का इसिता अधिकारी र छोरा निशान्त अधिकारी छन् । उनीहरू ज्योति अधिकारीका जुम्ल्याहा छोराछोरी हुन् ।
यस्तै, सञ्जु खवासकी ८ वर्षीया छोरी रिहाको पनि निधन भएको हो । आँगनमा सुतेको अवस्थामा गाडी पल्टिएपछि खसेको ढुंगाले उनीहरूलाई किचेको थियो ।
घटनामा आमाहरू ज्योति र सञ्जु घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी उद्धार गरिरहेका छन् ।