काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विवादित तीन मन्त्रीबारे निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनको समय दिएको छ । शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तीन दिनभित्र जवाफ दिन माग गरेका हुन् ।
“अब बस्ने बैठक, संसदले बनाएको तालिकाबमोजिम १३ वा १४ गते हाम्रो बैठक छ, समय छान्ने सुविधा प्रधानमन्त्रीलाई भयो, उपयुक्त बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्न माग गर्छु”, एमालेको तर्फबाट बोलेका बर्तौलाले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई अनुकूल लागेको समयमा आएर जवाफ दिनसक्ने उनले बताए । “हाम्रो प्रश्न सरकारलाई हो, सरकारका मन्त्रीसँग जोडिएका विषयप्रति हो, हामीले सरकारसँग जवाफ माग्दा सरकार स्वयंले गरोस् भन्ने हामी ठान्दछौँ”, उनले भनेका छन् ।
तर, सदनलाई छलेर हिँड्न खोजे प्रतिपक्षी हेरेर नबस्ने उनको चेतावनी छ । “सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याइयोस्”, बर्तौलाले चेतावनीपूर्ण भाषामा भनेका छन् ।
यसअघि बसेको संसद बैठक मन्त्रीहरुको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुले अवरोध गरेपछि स्थगित भएको थियो । सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको सर्वदलीय बैठकपछि सदन खुलाउने विषयमा सहमति बनेको थियो ।
यद्यपि, एमालेले मन्त्रीहरुको सन्दर्भमा आफ्नो अडान कायमै राखेको छ । एमालेले मन्त्रीहरुको राजीनामालाई निर्विकल्परुपमा अघि सारेको छ ।
एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, विवादित पृष्ठभूमिका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र भ्रष्टाचार प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको राजीनामा मागेको छ ।
उसो त तीनै मन्त्रीको सन्दर्भमा स्वयम् प्रधानमन्त्री प्रचण्ड पनि सन्तुष्ट छैनन् । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारसँग मन्त्रीहरुको सन्दर्भमा छलफल गरिरहेका छन् । तर, सत्ता साझेदारले निर्णय नदिँदा प्रधानमन्त्रीलाई सकस बनेको छ ।