हल्ला र प्रचार बाजिमा हतारिएको ‘रंगेली’लाई पहिलो गाँसमै ढुङ्गा-Sutra News

हल्ला र प्रचार बाजिमा हतारिएको ‘रंगेली’लाई पहिलो गाँसमै ढुङ्गा

शनिबार, १२ फाल्गुन २०८०

शनिबार, १२ फाल्गुन २०८०

काठमाडौं । फागुन २५ गतेबाट फिल्म ‘रंगेली’ प्रदर्शनमा आउँदै छ ।



अर्जुन सुवेदीको निर्देशनमा तयार भएको ‘रंगेली’लाई ग्याङ स्टारको कथामा तयार पारिएको छ । हालसम्मको अवस्था हेर्दा यो फिल्म ‘उपहार’ र ‘काँडेतार’सँग जुध्ने पक्का छ ।

उसो त, फिल्म ‘रंगेली’ कलाकारहरूका कारण पनि चर्चामा छ । गत वर्षदेखि बक्स अफिसमा हिट दिएर सफलताको ह्याट्रिक गरेका नायक दयाहाङ राई र नायिका मिरुना मगर जोडीका रूपमा देखिँदै छन् । यी दुईको नामको आडमा फिल्म चलाउने मनसाय राखेर मेकरहरु उनीहरूसँग फिल्म गर्छन् ।

गत वर्षदेखि दर्शकहरूको नजरमा यो जोडी परेकाले र उनीहरूले काम गरेका सबै फिल्म सफल पनि भएकै कारण ‘रंगेली’ टिमले फिल्म हिट हुने आशमा रहेको छ ।

फिल्म ‘रंगेली’को हाइपसँगै र प्रमोसन अझै बढाउनकालागि दया र मिरूनाको साथ खोजी रहेको छ । तर, छायाकंन नै नसकिँदै प्रदर्शन मिति तोक्न र प्रिमियर गर्ने सम्मको घोषणा गर्न पछाडि नपरेको निर्माण पक्षले रिलिज मिति नजिकिँदै जाँदा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रमबाटै उनीहरूको साथ पाउन सकेन ।

एकातिर फिल्मका मुख्य कलाकारको साथ नपाएको रंगेली टिमले छायाकंनकै चरणबाटै हतार गर्दै अस्ट्रेलिया र अमेरिकामा भिआइपी रेड कार्पेट प्रिमियर हुने भनेर घोषणा समेत समेत गरेको थियो । सबै कलाकारको व्यस्तताका कारण अमेरिकाको प्रिमियर होल्ड गरिएको निर्माण पक्षले बताउन थालेको छ ।

यता, मुख्य कलाकारको प्रमोसन साथ नपाएपछि रंगेली टिमले व्यस्तताको कारण बताएको छ । यसरी हेर्दा फिल्मको टिमलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।

कलाकारको समय मिल्दा हेरेर बसेको रंगेली टिमले दया र मिरुना नहुन साथ व्यस्तताको कारण देखाउन तयार भएको छ । निर्देशक सुवेदी भन्छन्, ‘उँहाहरुको व्यस्तताको कारण आउन सक्नु भएन रुकुम जस्तो ठाउँ बाट हामीले नि ल्याउन सकेनौ हामीलाई नै जान आउन २ दिन लाग्छ र अर्को निर्माता र निर्देशको पनि त्यति नै मेहनत र लगानी छ हामीले बुझ्नु पर्छ ।’

‘रंगेली’ को प्रदर्शन मिति नजिकिएपछि प्रचार प्रसारमा दया र मिरुना जोडी भएको फाइदा लिन नपाइरहेको निर्माण पक्षका हरेक गतिविधि हेर्दा हलसम्म दर्शक तान्नलाई कहिले ‘मिम च्यालेञ्ज’ घोषणा गर्छ त, कहिले यसमा दर्शकले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्ने भन्दै प्रचार स्वरूप हल्ला पिटिरहेको छ ।

सुरुवातमा हरेका कुरामा हतार गरेको रंगेलीलाई यति बेला भने ’नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले’ भन्ने नेपालीमा उखान जस्तै भएको छ ।

फिल्ममा नायक आर्यन सिग्देलको केमियो भूमिका समेत रहेको छ । जुन केमियो दर्शकका लागि पनि सर्प्राइज हुने विश्वास निर्माण पक्षको छ । आर्यनको केमियो पर्दामा आउँदा दर्शकलाई उत्साह पैदा हुन्छ या हुँदैन त्यो रिलिज भएपछि थाहा हुने छ ।

केही समय अघि यस फिल्ममा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माको नृत्य गराएको ‘हातैले उघाएर’ गीत सार्वजनिक गरेको थियो । तर यो गीत निर्माण पक्षले सोचे अनुरूप चल्न सकेन । पछि उनीहरूले यो गीतको अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरी उत्कृष्ट फिचरसहितको ‘युमिडिजी’ स्मार्टफोन प्राप्त गर्ने भनेर दर्शकको ध्यान तान्न प्रचार गर्‍यो । यसपछि ‘रङ्गेली’ टिमले पृथक् शैलीको गीत भन्दै दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक गरेको थियो । जुन गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ ।

पृथक् शैलीको भनिएको यो दुल्हा दुल्हन गीत हिन्दी फिल्म ‘देव डी’मा समावेश ‘इमोश्नल अत्याचार’ भन्ने गीतसँग मिल्दो जुल्दो रहेको छ । यो गीतको भिडियो कन्सेप्ट र माहोल हेर्दा हुबहु जस्तै देख्न सकिन्छ ।

यस फिल्ममा दयाहाङ र मिरुनाका अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट