काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री निवास बालुवाटारबीच सम्बन्ध सुधार हुँदै आएको छ ।
सरकारले पक्राउ पुर्जीसमेत जारी गरेको अवस्थामा पनि विप्लव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा पुगेर पटक–पटक वार्ता गर्दै आएका छन् ।
गत आइतबार प्रधानमन्त्री अध्यक्ष रहेको पार्टी नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी र उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टीको संयुक्त मोर्चा समाजवादीको नेतृत्व विप्लवले गर्ने भएका छन् । पार्टी एकता गर्नेसम्मको योजना बनाएर चार वटा पार्टीहरूले समाजवादी मोर्चा गठन गरेको थियो ।
यसको केही दिनपछि महासचिव विप्लव र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’बीच भेट भएको छ । उनीहरूबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।
बालुवाटारमा दुई पूर्वसहकर्मीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पुनको सचिवालयका अनुसार विप्लव प्रधानमन्त्रीसँग भेटवार्ता गर्न पुगेका थिए । यसै क्रममा विप्लव र पुनबीच भेट भएको हो ।
पूर्व अर्थमन्त्री पुन चीनमा उपचार गरी स्वदेश फिर्ता भएपछि विप्लवसँग भेट गरेका थिए । भेटमा समसामयिक राजनीतिको विषयमा छलफल भएको जनाइँएको छ ।