काठमाडौं । आर्थिक रूपमा विपन्न रहेका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउन काठमाडौं महानगरका ५२ अस्पतालका ३७५ निःशुल्क शैय्या तयार रहेको काठमाडौं महानगरका मेयर बालेन शाहले घोषणा गरेका छन् ।
महानगरको निःशुल्क उपचारका लागि तयार पारेको प्रणालीमा ५२ अस्पताल परेको मेयर शाहले जानकारी दिए । फेसबुकमार्फत विपन्न नागरिकलाई उपलब्ध गराउने सेवाबारे जानकारी दिएका मेयर शाहले अस्पताललाई अनलाइन प्रणालीमा विवरण गराउन महानगरले नै युजर नेम र पासवर्डसमेत उपलब्ध गराएको छ ।
जसले यो प्रणालीअन्तर्गत कुन अस्पतालमा कुन सेवा छ ?, निःशुल्क बेड संख्या कति हो ?, कति बेडमा बिरामीको उपचार भइरहेको छ ?, कति खाली छन् ? लगायतका विवरण अनलाइन उपलब्ध हुनेछ । यसमा कुन विपन्न नागरिकले उपचार सेवा लिए ? कति दिन उपचार चल्यो ? बिरामी कहिले भर्ना भयो ? कहिले डिस्चार्ज भयो ? लगायतका सबै विवरणसमेत उपलब्ध हुने छन् ।
महानगरको प्रणालीमा आबद्ध अस्पतालमध्ये सबैभन्दा धेरै शैय्या हुनेमा काठमाडौं मेडिकल कलेज सिनामंगल र मनमोहन मेमोरियल कलेज स्वयम्भू जस्ता ठूला र सुविधा सम्पन्न अस्पतालसमेत आबद्ध छन ।
विपन्न बिरामीले यो सेवा प्राप्त गर्नका लागि विपन्न परिचय पत्र लिएर सीधै अस्पताल जाने, विपन्न परिचय पत्र नभएको खण्डमा आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जिमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिने सुविधा उपलब्ध गराइएको छ । यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेले आफू विपन्न भएको प्रमाण लिएर महानगरको निःशुल्क स्वास्थ सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न मेयर शाहले आग्रह गरेका छन् ।
यस्तै, वेवारिसेको हकमा भने नजिकको वडा कार्यालय तथा प्रहरीको सिफारिसका आधारमा निःशुल्क उपचार सेवा प्रदान गरिने तथा आगामी जेठ महिनादेखि निःशुल्क उपचार अभियान सुरु गर्ने मेयर शाहको घोषणा छ ।