झोलुङ्गे पुलको उद्घाटन गर्दै प्रचण्डले भने- मधेसको विकासमा म निरन्तर लाग्नेछु-Sutra News

झोलुङ्गे पुलको उद्घाटन गर्दै प्रचण्डले भने- मधेसको विकासमा म निरन्तर लाग्नेछु

शनिबार, १२ फाल्गुन २०८०

शनिबार, १२ फाल्गुन २०८०

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा पुगेर मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गरे ।



सिराहा नगरपालिका १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । उनले भने, “अब संघीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउने छ ।”

प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै उनले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए ।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट