गोदाममा थन्कियो ७५ करोड मूल्यको दूध र घ्यू-Sutra News

गोदाममा थन्कियो ७५ करोड मूल्यको दूध र घ्यू

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । भरतपुर महानगर १ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो ।



उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्मको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए ।

उनका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उनले उद्योगमा तीन सय र ५०–५० टनका तीन वटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिए ।

“उद्योगले १५ किलोको घ्यूका प्याकेट निर्माण गर्ने गर्दछ, तिनलाई चाङ लगाएर कोल्डस्टोरमा राखिएको छ,” प्रबन्धक दुर्गा पराजुलीले भने, “घ्यू कोल्डस्टोरमा माइनस २० डिग्री सेन्टिग्रेट तापक्रममा राख्नु पर्ने हुन्छ, विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाउनु परेका छ ।”

उद्योग बन्द भए पनि झण्डै १६ लाखको बिजुली र १० लाख हाराहारीको डिजेल खर्च हुने गरेको उनको भनाइ थियो । योसँगै उद्योग सञ्चालन हुँदा ४० लाख हाराहारीको भुस प्रयोग हुने गरेको उनले बताए ।

विं.सं. २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । ०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको ११३ र घ्यूको प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

३१ वटा डेरी उद्योग, निजी फर्म र सहकारीको दूध भण्डार भएर बसेको छ । उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिक रुपमा समेत समस्यामा परेको छ । प्रशोधन समेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट