काठमाडौं । शेयर बजार फेरि १९ सयको बिन्दुमा झरेको छ । लगातारको गिरावटपछि साताको पहिलो कारोबार दिन आइतबार २६.८१ अंकले घट्दै बजार १९७९.०२ को बिन्दुमा ओर्लिएको हो ।
यसअघि गत मंसिर अन्तिम साता बजार १९ सयको बिन्दुमा थियो । त्यसयता बढ्न थालेको बजार २ हजारको बिन्दुबाट तल ओर्लिएको थिएन ।
गत फागुन ३ दिने बजारमा ओरालोमा थियो । योबीचमा मात्रै बजारमा ८६ अंकको गिरावट आएको छ ।
अधिंकाश कम्पनीको मूल्यमा गिरावट
आइतबार अधिकांश दुई उपसमूहबाहेक नेप्सेका सबैजसो उपसमूह राताम्मे बने । वित्त र उत्पादन तथा प्रशोधन उपसमूह बाहेक सबैको मूल्यमा गिरावट आयो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमा आएका २४६ कम्पनीमध्ये २०६ कम्पनीको मूल्य घट्यो । घटेको बजारको प्रभाव दुई कम्पनी समाज लघुवित्त र मोलुङ्ग हाइड्रो पावरको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने साम्लिङ्ग पावर, बेहपी हाइड्रो पावरको मूल्यमा नौ प्रतिशतभन्दा बढीको गिरावट आयो ।
आइतबार लाभांश घोषणा गरेको कारण सन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्यमा बृद्धिसँगै कारोबार रकम पनि उच्च रह्यो । मूल्य बढेको कारण खरिद–कर्ता र बिक्रीकर्ता झुम्मिँदा व्यापार बढेको थियो ।