काठमाडौं । आइतबार बसेका प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदबीच जुहारी चलेको छ । दुई दलको सांसदबीचको विवादमा नेपाली कांग्रेसका सांसदले प्रवेश गरे ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई सभामुखले विशेष समयमा बोल्न समय दिए । संसदमा बोल्दै गर्दा शाहीले आफूहरू कसैको घाँटी काटेर, गुडिरहेको बसमा बम पड्काएर नआएको भन्दै माओवादीप्रति लक्षित गरे ।
शाहीले सम्बोधन गरिरहँदा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । त्यसपछि बैठकमा हंगा भएको थियो ।
सांसद शाहीले आफ्नो राजीनामा मागेको भन्दै कविता सुनाएर राजीनामा नदिने बताए । त्यसपछि उनले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष भएका माओवादीमाथि खनिए ।
‘म जनताबाट निर्वाचित भएर जुम्लाका दाजुभाइको आर्शीवादबाट निर्वाचन भएको हो, म ८-९ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ?,मैले राजीनामा किन दिने ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले राजीनामा किन दिने ? नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई मारेको हो ?,’ उनले भने ।
यस्तै, शाहीले आज देशमा जातजाति तथा भाषाभाषीका रुपमा राजनीति भएको भन्दै आफूले राजीनामा नदिने बताउँदै गर्दा माओवादीका सचेतक पाण्डेले नियमापत्ति जनाएका थिए । सांसद शाहीले बोल्ने क्रममा ‘घाँटी रेट्ने’ कुरा गरेको भन्दै माओवादी सांसद् पाण्डेले नियमापत्ति गरे ।
‘अहिले जसरी बहसमा शब्दहरू प्रयोग भएका छन्, घाँटी रेट्ने कुरा जसरी आएका छन्, यो संसदीय अभ्यासअनुसार छैनन्,’ पाण्डेले भने, ‘यसमा मेरो नियमापत्ति छ ।’
गत शुक्रबार बसेको बैठकमा माओवादीका एक सांसदले राजीनामा मागेपछि आक्रोशित बनेका शाहीले संविधान पढेर मात्रै बोल्न चुनौती दिए ।
पाण्डेले नियमापत्ति जनाइरहँदा सत्तापक्ष दल कांग्रेस सांसद सुनिल शर्माले बोल्ने पालो मागे । बोल्ने समय मागेका शर्मालाई सभामुखले समय दिइन् ।
सांसद शर्माले एउटा सांसद बोल्दै गर्दा अर्को सांसद तुरुन्तै बोल्न नपाइने भन्दै आफ्नो नियमापत्ति रहेको बताए । ‘एउटा गरिमामय सांसद सांसद बोलिरहँदा राज्य पक्षमा बसेको सांसदले तुरुन्त नियमापत्ति, त्यो म एरेस्ट भएर आउँदा पनि यस्तै गर्नु भएको थियो, अहिले पनि यस्तै गर्नु भएको छ, यो गर्न पाइँदैन,’ उनले भने ।
सत्ता पक्षको दल माअोवादीका सांसदले शाहीले सम्बोधन गरेको विषयमा नियमापत्ति जनाउँदा उनकै विरुद्ध सत्ता पक्षकै सांसदले नियमापत्ति जनाए । सत्ता पक्ष दल माअोवादीविरुद्ध उत्रिएका शाहीलाई सत्ता पक्षकै कांग्रेसका सांसदको आड पाएपछि थप जङ्गिए ।
आफ्नो बेठेगान बोलीप्रति नियमापत्ति भएपछि केही सच्चिने प्रयास गरेका शाही आफूले जुम्ली जनताको आर्शीवाद पाएर आएको बताए । उनले आफूले गोबर र आलु (कांग्रेस-माओवादी)को गठबन्धनलाई हराएर निर्वाचित भएर आएको बताए ।