टी-२० शृंखला : भोलि नेपाल र नामिबिया भिड्दै-Sutra News

टी-२० शृंखला : भोलि नेपाल र नामिबिया भिड्दै

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । आइतबार सम्पन्न एक दिवसीय प्रतियोगितामा सहभागी तीन देशबीच अब टी-२० ढाँचाको प्रतियोगिता खेल्ने भएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृंखला खेल्ने भएको हो ।



यी तीन राष्ट्रबिचको टी-२० शृंखला मंगलबारदेखि सुरु हुने भएको हो । क्यानका अनुसार आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकपको तयारीमा यो शृंखला खेल्न भएको हो ।

त्रिकोणात्मक टी-२० शृंखलाको पहिलो चरणमा तीनवटै टोलीले दुई–दुई खेल खेल्ने भएका छन् । पहिलो खेल मंगलबार नेपाल र नामिबियाबीच हुने छ । खेल बिहान ११ः३० बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्ने छ भने फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबीच तेस्रो खेल हुनेछ । मार्च १ तारिखमा नेपाल र नामिबियाबीच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबीच पाँचौँ खेल हुनेछ । छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबीच हुने छ ।

त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्ने छन् । फाइनल खेल मार्च ५ तारिखमा खेलिने क्यानले जनाएको छ ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नामिबिया विश्वकपको समूह ‘बी’मा रहेको छ । त्यो समूहमा इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट