काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनीत फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ ।
राज बहादुर सानेको निर्देशनमा निर्माण भइरहेको फिल्मको यसै हप्ता सिन्धुलीको छायांकन सेड्युल सकिएकाे हो ।
निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै फिल्मको छायांकन २५ दिनसम्म सिंन्धुलीमा गरिएको र सहज वातावरणमा रमाइलोसँग सकिएकाले राम्रो बनेको बताए ।
निर्माण टिमले बाँकी रहेको छायांकन चाँडै सकिएको खण्डमा ‘सिटामोल’लाई तीजमा रिलिज लक्ष्य राखेको छ ।
फिल्मको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरले दर्शकमाझ फिल्मप्रति उत्साह पैदा गर्ने देखिन्छ । फिल्ममा सौगात र बेनिशा श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । उनीहरु फिल्म ‘झ्यानाकुटी’पछि फेरि एकसाथ श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदै छन्।
फिल्मले माओवादी जनयुद्धको कथा उठान गरेको छ । तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् ।
फिल्ममा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
फिल्मको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचि रहेका छन् ।
फिल्ममा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।