अभिनेत्री करिश्माको प्रश्न – चलचित्र संस्थानको २७ रोपनी जग्गा कहाँ गयो ?-Sutra News

अभिनेत्री करिश्माको प्रश्न – चलचित्र संस्थानको २७ रोपनी जग्गा कहाँ गयो ?

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेपाली चलचित्र संस्थानको जग्गा कहाँ गयो भनेर प्रश्न गरेकी छिन् ।



अभिनेत्री मानन्धरले बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेपाल चलचित्र संस्थानको २७ रोपनी जग्गाको खोजी गर्न सरकारलाई आग्रह गरेकी हुन् ।

आइतबार फेसबुकमा दुई स्टाटस लेख्दै मानन्धरले लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा मुद्दा बनिरहेको यो विषयमा टिप्पणी गर्दै संस्थानको उक्त जग्गा भाडामा दिने सरकारको निर्णयलाई प्रश्न गर्नुका साथै राज्यले तुरुन्तै जग्गा खोजी गर्न चासो राख्नुपर्ने आग्रह गरेकी छिन् । यदी समाधान नभएको खण्डमा उनले यसविरुद्ध अदालत जाने चेतावनी समेत दिएकी छन् ।

उनले लेखेकी छिन्, ‘शाही नेपाल फिल्म विकास बोर्ड । गरेको रहेछ त । आजको दिन पनि त्यो भवन उत्कृष्ट छ । किन लिजमा दिएको ? फेरि अरूलाई किन लिजमा दिएको ? तुरुन्तै राज्यले चासो राखेर कारवाही गरोस् । बाबु साहेब, बसन्तीको रिल छ । अदालत जान नपरोस् ।’

यो विषयमा पटक पटक आवाज नउठेको भने होइन । तर, यसको समाधान भने हुन सकेको छैन । पूर्व संचार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पनि यो जग्गाको विषयमा आवाज उठाएका थिए । उनले, जग्गालाई व्यक्तिगत बनाउनेलाई पानी मुनी गएपनि नछाड्ने चेतावनी दिएका थिए ।

वि.सं २०४८ सालमा सरकारले चलचित्र विकास कम्पनीलाई भाडामा दिएको थियो । सरकारले सो समयमा २७ रोपनी जग्गा उपलब्ध गराए पनि अहिले ६.७५ रोपनी जग्गा मात्र छ । २० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । तर, यस विषयमा सरकारले अहिलेसम्म कुनै कदम चाल्न सकेको छैन ।

हराएको २० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै पछिल्लो वर्ष कम्पनी विवादमा मुछिएको छ । करिश्माले सो जग्गा खोजेर सरकारको नाममा ल्याउन आग्रह गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट