काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले विवादित व्यक्तिहरूलाई प्रतिनिधिसभाबाट झण्डा छोपेर बिदाई गरेर अनुसन्धान नहुँदासम्म आउन दिन नहुने बताएका छन् ।
संसदमा हुँदै आएको आरोप-प्रत्यारोप र अनावश्यक छलफललाई कम गर्नका लागि अख्तियारले डामेको, आयोगले पोलेको, सहकारी ठगी गर्ने, दोहोरो नागरिकता बोक्ने सबै सांसदलाई छानबिन गर्नका लागि बिदाई गर्नु पर्ने उनको माग थियो ।
‘विगत केही दिनदेखि यता (सत्ता) बसेकाले उता (प्रतिपक्षी) बसेकोलाई दागी देख्ने, उता बसेकाले यता बस्नेलाई दागी देख्ने भइरहेको छ, यही पाराले त न संसद राम्रोसँग चल्ने भयो ? मूल विषयमा पनि छायामा पर्ने भयो,’ उनले भने, ‘अब यसो गर्नुहोला सभामुख ज्यु आशनको दाया बस्ने होस कि बाया बस्ने होस, काखेको हो कि पाखेको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाँडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ ।’
यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठग्ने र नागरिकता विवाद हुनेलाई पनि पठाउनु पर्ने माग राखे । ‘सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ, यति गरे के होला ? निर्दोष भए फर्केर आउनु होला, स्वागत गरेर फूलमाला लगाइदिउँला, दोषी भए दण्ड बेर्होनु होला, अलिअलि सफा गर्ने सके, यहाँ मिटरब्याजको बारेमा दूधको किसानले मूल्य नपाएको बारेमा एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिन्थ्यो होला, होइन भने यताकाले उता देखाउने उताकाले यता देखाउने दोहोरी चलिराख्ने भयो,’ उनले थपे ।