युक्रेनमाथि अन्धाधुन्ध बमबारी गरी कमजोर छिमेकी राष्ट्रसँग युद्ध गरिरहेको रुसमा भएको घटनाबारे गत फेब्रुअरी १६, २०२४ का दिन बिहानै अन्तर्राष्ट्रिय सञ्चार माध्यम छायो । रुसका सर्वाधिक चर्चित राजनीतिकज्ञ अलेक्सेई नाभाल्नीको निधनको अपुष्ट समाचारसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विश्वभर विरोध सुरु भयो । यसअघि पनि पुटिनले युक्रेनमाथि अमानवीय युद्ध गरेको भन्दै पश्चिमा शक्तिले विरोध गर्दै युक्रेनलाई साथ दिएको थियो ।
नाभाल्नीको निधन भएकै दिन अपरान्हदेखि असंख्य मस्कोबासी हातमा फूल र आँखामा आँसु लिएर राजनीतिक अत्याचारबाट पीडितको सम्झनामा मिखाइल गोर्बाच्योभको पालामा स्थापित स्मारक ‘सोलोभेत्स्की शिला’अगाडि पुगेर विरोध जनाए । यस्तै, दृश्य अन्य शहरहरुमा पनि देखिएको थियो ।
तर, फूल चढाउन आएका नागरिकमाथि रुसी शासकले क्रुरता देखाउँदै दमन गरे । विपक्षी दलको नेताको समर्थनमा आएको भन्दै पिटे । फूल खोसेर फालिदिए । सक्ने भए शासकले आँखाबाट खसेका आँसु खोस्थे होला !
शोकसभामा पुगेका सयौँ नागरिक गिरफ्तार भए । रातरात सुरक्षाकर्मीले शोकसभामा चढाइएको फूलहरु फालिदिए । तर, आगन्तुकको लहर कायमै रह्यो । सुरक्षाकर्मीको दमन पनि कायमै रह्यो ।
नाभाल्नीको निधन भएको भोलिपल्ट ‘अकस्मात मृत्यु’ भएको सरकारले विज्ञप्ति निकाल्यो । तर, परिवारलाई शव दिइएन । सरकारले नै गायब बनाइदियो । नाभाल्नीको निधनको घटनालाई हेर्दा, रुसी राष्ट्रपति कति क्रुर छन् भन्ने देखाउँछ ।
रुस मात्र होइन, विश्वकै सबैभन्दा सुरक्षित र जनताप्रति उत्तरदायी भनिएको मुलुक अमेरिको सत्ता पनि जनताको पक्षमा नभएको देखिन्छ । उ झन क्रुर छ भन्नेमा कुनै द्विविधा छैन् । हालै, विश्वमा धेरै देशको जनजीवन तहसनहस बनाएको अमेरिकामा सत्ताको विरोध गर्दै एक सैनिकले आत्मदाहको प्रयास गरे ।
अमेरिकी राजधानी वासिङ्टनस्थित इजरायली दूतावास बाहिर एक अमेरिकी वायुसेनाका सैनिकले आत्महत्याको प्रयास गरेका थिए । उनले गाजामा हजारौँ जनताको मृत्यु हुनेगरी भएको युद्ध रोक्नु पर्ने माग राखेका थिए । यस क्रममा उनले आफू युद्धमा नजाने भन्दै कराएका थिए ।
‘म गाजामा भइरहेको नरसंहारमा भाग लिने छैन, प्यालेस्टाइनलाई मुक्त गर्न आवश्यक छ, स्वतन्त्र प्यालेस्टाइन, अब म आक्रमणको विरोध गर्न खतरनाक कदम चाल्दै छु,’ उनले यति भन्दै आत्मदाह गरेका थिए ।
उनको अवस्था गम्भीर छ । अहिले उपचार भइरहेको छ ।
अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था छ । यस्तो व्यवस्थामा सरकार जनताका हरेक अधिकारप्रति उदार हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।
तर, जनताको स–सानो मागमा पनि सरकारले दमनकारी भूमिका निर्वाह गर्दै आएको छ । यसको पछिल्लो उदाहरण हो– ललितपुरको बालकुमारीमा भएको दुई युवाको हत्या ।
गत पुस १३ गते दक्षिण कोरियामा जहाज निर्माण क्षेत्रमा काम गर्न भाषा परीक्षा (ईपीएस) दिई बसेका ३२ हजार युवाहरुले उत्पादन क्षेत्रका लागि पनि भाषा परीक्षामा आवेदन दिन पाउनु पर्ने माग राखेका थिए ।
ईपीएस परीक्षाको माग राख्दै आन्दोलमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली प्रहार गरे । यस क्रममा दुई युवाले ज्यान गुमाए ।
घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको निधन भएको थियो । सरकारले ईपीएस भाषा परीक्षा दिन पाउँदै भन्दै गर्दा दुई युवाको निधनसँगै परीक्षा दिन पाउने सूचना जारी गरेको थियो ।
बालकुमारी घटनामा दुई युवाको ज्यान जाने गरी भएको घटनामा सरकारी छानबिन समितिले नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई जिम्मेवार ठहर गरिसकेको छ । छानबिन समितिको प्रतिवेदनसँगै संसदमा प्रतिपक्षी दलका नेताहरुले मन्त्रीको राजीनामा माग्दै विरोध गर्दै आएको छ । तर, सत्ता पक्ष यसबारे मौन बस्दै आएको छ ।
घटना घटेलगत्तै मन्त्री ज्वालाको बर्खास्ती गर्न माग गरेको थियो । तर गठबन्धनको दबाबका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौन बस्दै आएका छन् । प्रतिपक्षी दल मन्त्रीको राजीनामा माग्दै विरोध जनाउँदै आएको छ ।
लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको अवस्थामा जनताप्रति क्रुर भएको नेपालको सत्ताले एक शताब्दी राणा शासन, पञ्चायत, निर्दलीय व्यवस्था, दुई शताब्दी राजतन्त्र भोगिसकेको छ । यस अवस्थामा जनताले कस्तो शासन पाए ? जनताले कति अधिकार पाए ? भन्ने कल्पना मात्रै गर्न सकिन्छ ।