काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ।
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध गायक आचार्यको सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।
३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहे आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि बिमारी रहेका थिए ।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए। नेपाली सुगम संगीतलाई उचाइमा पुर्याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ।
स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी हुन् । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । आचार्यको जीवनीमा आधारित भएर फिल्म ‘आचार्य’ बनिसकेको छ। फिल्ममा गायकको जिन्दगीका आरोह अवरोह, सफलता र दु:खहरु समेटिएको छ।
आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो। उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो। त्यसपछि उनले गाउन सकेनन्। उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन्।
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ। भक्तराजका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन् ।