काठमाडाैं । चर्चित टेलिभिजन लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेल विरुद्ध यौन दुर्व्यवहारको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै पूर्व कर्मचारी तथा गायिका शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको काठमाडौ जिल्ला अदालतले पनि पुष्टि गरेको छ ।
एक साता अगाडिबाट सुरु भएको इन्द्रेणी भित्रको विवादले केही समययता सामाजिक सञ्जाल तताएको छ भने शर्मिला सहित ६ जनाले लगाएको आरोप विरुद्ध कँडेलले पत्रकार सम्मेलन नै गरेर उनिहरूले लगाएको आरोपको प्रतिवाद गर्दै ६ जना विरुद्ध नै गाली बेइज्जती मुद्दा दायर गरेको भएपनि शर्मिला बाहेक ५ जनाले भने कँडेलसँग मिलापत्र गरिसकेका छन् ।
लाइभ दोहोरीलाई इन्द्रेणीको नामबाट लोकप्रिय बनाउने मात्रै नभएर लोक दोहोरीको संरक्षण गर्नुका साथै दु:खी पीडितलाई करोडौं सहयोग गर्दै लाखौंको जीवन बचाएको दाबी गर्ने कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव नै राखेको तथा पटकपटक यौन दुर्व्यवहार गर्दै आएको शर्मिलाले सामाजिक सञ्जाल र आम सञ्चार बाटै पटकपटक आरोप लगाउँदै आएकी थिइन् ।
कँडेलले आरोपको प्रतिवाद गर्न कानुनको सहारा लिँदै जिल्ला अदालत काठमाडौ मुद्दा दायर गर्नु तथा शर्मिला बाहेकका अन्य ५ जना पुनः कँडेलसँग मिलेसँगै एक्लिएकी शर्मिलाले कँडेललाई कानुनी च्यालेन्ज गरेसँगै इन्द्रेणी भित्रको विवाद त लम्बिएको छ नै यसले थप कानुनी परिक्षणको सामना गर्नुपर्ने भएको छ ।