काठमाडौं । सोमबारदेखि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणमा आएकी छिन् । अख्तरले नेपालमा रहँदा उच्च राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
यहीबीच अमेरिकी युएस इन्डो–प्यासिफिक कमान्डर एडमिरल जोन सी अक्यैलिनो पनि नेपालमा छन् । उनले पनि शीर्ष तहमा भेटवार्ता गरिरहेका छन् ।
अमेरिकाका उच्च अधिकारीहरु एकपछि अर्को गर्दै भेटवार्तामा भइरहेको बेला चिनियाँ टोली पनि सक्रिय बनेको छ । चिनियाँ टोलीले पनि राजनीतिक भेटवार्तालाई तिव्रता दिएको छ ।
चिनियाँ टोलीले चीननिकट मानिने नेताहरुसँग भेटवार्ता सुरु गरेको छ । अमेरिकी उच्च अधिकारी सक्रिय भइरहेको बेला सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङले पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । सोङले समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेको खनालनिकट स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शंकर खतिवडाले जनाएअनुसार सोङले भेटवार्तामा नेपालमा भइरहेका पछिल्लो घटनाक्रमबारे जिज्ञासा राखेका थिए । उनले घुमाउरो शैलीमा अमेरिकी अधिकारीको भेटवार्ताप्रति प्रश्न गरेको बुझिएको छ ।
पछिल्लो समय एकपछि अर्को गर्दै विशेषतः अमेरिकी र चिनियाँ टोली नेपालमा सक्रिय छ । विभिन्न शीर्षकमा उच्च राजनीतिक भेटवार्ता गरिरहेको छ । जसलाई धेरैको प्रश्नको रुपमा हेरेका छन् ।