अदालतको फैसलापछि निशाको स्पष्टिकरण- ‘अर्काको धन सम्पत्तिमा नजर छैन’-Sutra News

अदालतको फैसलापछि निशाको स्पष्टिकरण- ‘अर्काको धन सम्पत्तिमा नजर छैन’

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं । अभिनेत्री निशा अधिकारी र पूर्व क्रिकेटर शरद भेषवाकरबीचको मुद्दामा अदालतले निशाले अंश पाउने फैसला गरिसकेको छ । अभिनेत्री अधिकारीले जिल्ला अदालत, काठमाडौंमा अंशबन्डा र मानाचामल भराउने माग सहित २०७९ भदौ २८ गते मुद्दा हालेकी थिइन् ।



निशाले छोरा युभान र आफ्नो अंशवापत शरदबाट तीन भागमा दुई भाग सम्पत्ति पाउनुपर्ने दाबीसहित मुद्दा दायर गरेकी थिइन् । उनले श्रीमान भेषावकरसँग माना चामल खर्च वापत मासिक ४१ हजार रुपैयाँ बुझ्दै आएकी उनले शरदको कुल सम्पत्तिलाई तीन भागमा बाँड्दा छोरो र आफ्नो भाग गरेर दुई तिहाइ आफ्नो हुनुपर्ने भनाई छ ।

उनले भरणपोषण खर्च वापत छोरा र आफूलाई शरदले जनही ५० हजार रुपैयाँको दरले मासिक एक लाख रुपैयाँ दिनुपर्ने मागदावी मुद्दामा छ । तर गत मंसिर २८ गते जिल्ला अदालतले निशाले शरदको एक तिहाई सम्पति मात्र पाउने फैसला सुनायो । सोही आदेशबमोजिमको अंश प्राप्त नहुञ्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्ने फैसलामा उल्लेख छ ।

फैसलाअनुसार बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको थियो । निशा र युभानले एक–एक भाग पाउने र युभान साबालक नभएसम्म उनको अंशको संरक्षक बुबाआमा दुवै हुनेछन् । छोरा युभान आफ्नो एकल संरक्षणमा हुनुपर्ने निशाको माग थियो । तर अदालतले युभान दुवैको संरक्षणमा हुने फैसला सुनाएको छ । त्यसो त, शरदले आफ्नोभन्दा निशाकै आम्दानी धेरै भएकाले माना चामल भराउनुपर्ने अवस्था नरहेको जिकीर लिएका थिए ।

निशाले दायर गरेको फिराद पत्रमा विवाह भएको केही समयपछि नै पतिसँग राम्रो सम्बन्ध नभएको उल्लेख छ । सोही समयदेखि शरद र निशा बेग्लै बस्दै आएका छन् । अदालतले उनीहरुबीच अंशवण्डाको फैसला सुनाएपनि सम्बन्धविच्छेद भने भएको छैन । अंशबण्डापछि उनीहरु छुट्टाछुट्टै बसेपनि श्रीमान-श्रीमतीको नाता भने कायम रहिरहन्छ ।

माना चामलको मुद्दा र अदालतको फैसलालाई गुपचुप राख्न चाहेकी निशाको उक्त चाहना फैसला सार्वजनिकलगत्तै टुटेको छ । फैसला न्यायाधीश शिशिरराज ढकालको इजलासबाट भएको हो ।

यता, अभिनेत्री निशाले सामाजिक संजालमा केही बुँदाहरू लेख्दै आफ्नो छोराको बाबु र आफूले एक अर्काबाट एक पैसा पनि नलिने र आफूहरूको भागको सबै पैसा छोराको नाममा राख्ने निर्णय गरेको बताएकी छिन् । उनले, यो मुद्दाको खबर बाहिर आएपछि विभिन्न टीका टिप्पणी र गाली पनि खाँदै आएको भन्दै आफ्नो भनाई राखेकी हुन् ।

निशाले मंगलबार फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै लेखेकी छिन्–‘कानुनमा आम र बाबु दुवैको सबै कुरा भाग लाग्ने व्यवस्था छ । मैले कानुनी उपचार किन लिनु पर्यो भन्ने कुरा व्यक्तिगत हो । हामी दुवैको एक अर्काको धन सम्पत्तिमा नजर नरहेको पनि स्पष्ट पार्न चाहन्छु । छोरा र छोरीलाई बराबर अंश दिने प्रावधान छ । तसर्थ, कोबाट धेरै पाउँछ भन्ने कुरा नितान्त व्यक्तिगत हो ।’

उनले, आफू मर्नु अगाडि आफ्नो एक मात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा आफूले गर्व महशुश गरेको पनि उल्लेख गरेकी छिन् । साथै, उनले कानुनको शंसोधन भएर धेरै कुराहरू अगाडि आएकाले यसलाई सामान्य रुपमा लिन आवश्यक रहेको पनि लेखेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्–‘सामाजमा हानी नहुने गरी, आफ्नो सन्तानलाई राम्रो वातावरणमा हुर्काउन पाउनु सबै अभिभावकको कर्तव्य हो । यस विषयमा धेरै कुराहरू गर्न सकिन्छ । अरूको जुत्ता नलगाएसम्म त्यो जुत्ताले दिने पीडाको हेक्का हुँदैन । यसैले, कृपया आफ्ना बालबालिका र नाति नातीनाको भविष्यका लागि के के गर्नुपर्छ, निर्धक्क भएर गरौं र गर्न दिउ । अझ पनि कानुनमा संशोधन गर्न पर्ने कुराहरू धेरै छन् । निशाले आफ्नो २ बर्ष निकै नै गाह्रो भएको भन्दै अब त्यो समाप्त भएकोमा खुशी पनि व्यक्त गरेकी छिन् ।

उनीहरू २०७४ असारमा वैवाह गरेका थिए । शरद नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी थिए भने निशा थुप्रै फिल्ममा अभिनय गरेकी कलाकार हुन् । प्रेम सम्बन्धमा रहेका उनीहरूले सामाजिक परम्परा अनुसार विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट