काठमाडौं । केही समय अघि अभिनेत्री प्रियंका कार्कीले आगामी वर्ष दुईवटा फिल्म निर्माणको तयारी गरिरहेको कुरा बताएकी थिइन्। सोही अनुसार प्रियंकाले सर्ट फिल्म ‘टाँक’ घोषणा गरेकी छन् ।
प्रियंकाले आफ्नो जन्मदिन अवसरमा मंगलबार छोटो फिल्म ‘टाँक’को फस्टलुक पोस्टर सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमार्फत् दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रियंकाले फिल्मबारे जानकारी गराएकी हुन् ।
अन्तर्राष्ट्रिय फेस्टिभलमा पठाउने तयारी सहित साम्तेन भुटियाले निर्देशन गरेको यो फिल्मका दुई पोस्टरमा प्रियंकालाई दुर्गम गाउँको दुःखी विवाहित महिलाको रुपमा चित्रण गरिएको छ ।
सार्वजनिक पोस्टर हेर्दा प्रियंकाले अब फरक चरित्रमा आफूलाई ढाल्न खोजेको देखिन्छ । दुईमध्ये एक पोस्टरमा उनको लुक्स विशुद्ध ग्रामिण महिलाको देख्न सकिन्छ । अर्कोमा चाहिँ उनी बच्चासँग छिन् ।
धादिङमा छायांकन भएको ‘टाँक’लाई प्रियंकाको कम्पनी आयंका फिल्म्सबाट निर्माण गरेको हो । फिल्ममा प्रियंकाका साथै रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, ‘प्रकाश’ अभिनेत्री रेनु योगीको पनि अभिनय छ ।
निर्देशक भुटियाकै लेखन र सम्पादन रहेको ‘टाँक’को निर्माता प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी हुन् । यसलाई आयुष्मानले खिचेका हुन् ।
प्रियंकाले यसपछि निर्देशक सिमोस सुनुवारसँग मिलेर उनले एक फिचर फिल्म निर्माण गर्दैछिन् । यो फिल्मको छायांकन आयुष्मान देशराज जोशीले गर्ने खबर आइसकेको छ । यो फिल्म एक्सन जनरामा बन्नेछ । उनी स्वयं एक्सन भूमिकामा देखिनेछिन् । त्यसको कथा उनी आफैंले लेखिरहेकी छिन् ।