काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडास्थित बसिरहेको छ । बैठक बिहान ८ बजेदेखि बसिरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको सांगठनिक व्यवस्थापनको विषयमा छलफल चलिरहेको नेताहरुले जनाएका छन् ।
मंगलबार बसेको बैठकले प्रदेश इन्चार्जहरुको नाम टुंगो लगाएको थियो । मंगलबारको बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन र सामसामयिक राजनीतिक विषयबारे चर्चा भएको थियो ।
मंगलबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रियसभा अध्यक्षको पद माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका थिए ।
साथै, समाजवादी मोर्चालाई विस्तारको विषयबारे पनि बैठकमा छलफल भइरहेको छ । कतिपयले कांग्रेस महासमिति बैठकबारे पनि समीक्षात्मक कुरा राखेको नेताहरुले बताएका छन् ।