काठमाडौं । माओवादी केन्द्रको मंगलबारदेखि बसेको स्थायी समितिको बैठक केही महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टीको आन्तरिक सांगठनिक विषयदेखि केही राष्ट्रिय राजनीतिका विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय लिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकमा सबै स्थायी कमिटी सदस्यहरुले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने राय राखेका थिए ।
यस्तै, बैठकले आगामी निर्वाचनहरु एक्लै लड्ने पनि निर्णय गरेको छ । प्रवक्ता सापकोटाले जनाएअनुसार यो निर्णयमा पनि सबैजसो स्थायी समिति सदस्यको सहमति छ ।
“आउने निर्वाचनहरुमा पार्टीले एकलरुपमा प्रतिस्पर्धा गर्नेछ”, बैठकको निर्णयबारे प्रवक्ता सापकोटाले भनेका छन्, “यो पार्टीको कार्यनीतिक र रणनीतिक विषय हो ।”