काठमाडाैं । नामिबिया, नेदरल्याण्ड्स र नेपाल सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको हो ।
क्याप्टेन रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले उल्लेख्य पारी खेलेपनि नेपालको हार भने टार्न सकेनन् ।
त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सगल भयो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे। यस्तै दीपेन्द्र सिंह ऐरि ६३ रनको योगदान दिएपनि अन्तिम ओभरमा उनि आउट भएसंगै नेपाल पराजित हुनपुग्यो ऐरीले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि आसिफ शेखले ३४ तथा कुशल मल्ल र करण केसीले समान ११-११ रनको योगदान गरे ।
नेदरल्याण्ड्सका लागि साइब्रान्ड एङ्गलब्रेचले २ विकेट लिए ।
यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए। साइब्राण्ड एन्गलब्रेच ४९ रनमा अविजित रहे।
नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए। नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो ।