काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेतृत्वको सरकारले गरेको कामप्रति असन्तुष्टि पोखेका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकले उनले असन्तुष्टि पोखेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले समय तोकेर निर्धारित गरिएका योजनाहरु अलपत्र पर्नुको कारण के हो भनी प्रश्न गरे ।
“माघ मसान्तसम्म सम्पन्न हुनुपर्ने भनेर एक हजार सात सय ६७ मध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५० प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत सुरु नै हुन नसकेको देखियो । बिडम्बना, चालु आर्थिक वर्षमा तय भएका कुल तीन हजार तीन सय २१ योजनामध्ये हालसम्म ६३३ मात्रै सम्पन्न हुनु र चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि २४५ अझै सुरु नै हुन नसक्नुले हाम्रो कार्यक्षमतामाथि नै प्रश्न उठेको छ”, उनले भनेका छन् ।
आफैंले किटान गरेअनुसारको उपलब्धि अझै किन प्राप्त हुन सकेन ? सरकारसँग चित्तबुझ्दो नभएको उनको भनाई छ । “बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको भन्ने जस्ता कुरा देखाएर कतिसम्म पन्छिने ?”, प्रचण्डको प्रश्न छ ।
प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबिच तादात्म्य नमिल्दा कसरी मिलाउने भन्ने प्रश्न मुख्य बनेको उनले बताए ।
उनले भने, “मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रवृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन ।”