काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खोजी गर्न माग गरेको छ । शुक्रबार बसेको संसद बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री हराएको भन्दै खोजी गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
“सरकार जवाफदेही भएन सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो कि ? कति दिन चाहिने ?’, सांसद थापाले भनेका छन् ।
बालकुमारी घटनालगायतका विषयमा जवाफ दिन प्रधानमन्त्रीले पटक–पटक रुलिङ गरेपनि प्रधानमन्त्रीले संसद छल्दै हिँडेको थापाको आरोप छ । विवादित मन्त्रीहरुले राजीनामा नदिएसम्म र प्रमले जवाफ नदिएसम्म संसद नचल्ने एमालेको घोषणा छ ।
शुक्रबारको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारले संसदलाई वेवास्ता गरेको भन्दै जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताएका थिए । सरकार जवाफदेही नभएको सन्दर्भमा भत्ता सकाउनका निम्ति संसद चलाउनु अर्थहिन भएको उनको भनाई थियो ।
यद्यपि, सभामुखले पुनः सरकारलाई जवाफ दिन मिति तोकेर रुलिङ्ग गरेसँगै संसद बैठक भने सूचारु भएको छ । सभामुखले फागुन २१ गतेको बैठकमा जवाफ दिन निर्देश गरेका छन् ।