बैंकर्समाथिकाे धरपडकप्रति सिबिफिनकाे आपत्ति– बैंकिङ क्षेत्र त्रसित र भयभित बनाइयाे-Sutra News

बैंकर्समाथिकाे धरपडकप्रति सिबिफिनकाे आपत्ति– बैंकिङ क्षेत्र त्रसित र भयभित बनाइयाे

शुक्रबार, १८ फाल्गुन २०८०

शुक्रबार, १८ फाल्गुन २०८०

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ गरिएकाे विषयप्रति आपत्ति जनाएकाे छ । कर्मचारी पक्राउकाे घटनाले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बनेकाे सिबिफिनकाे भनाइ छ ।



कर्जा प्रवाहको विषयमा प्रचलित नियम, अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिइ कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिई हिरासतमा राखिएको भन्दै बैंक तथा वित्तीय संस्था सिबिफिनकाे आपत्ति छ । धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइदा समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको परिसंघले उल्लेख गरेको छ।

“धितो र कर्जा प्रवाहका विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन्”, सिबिफिनले विज्ञप्तिमार्फत भनेको छ, “समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्‍याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन आग्रह गर्दछौँ ।”

धरपकडकाे घटनाले बैंकिङ क्षेत्रका लगानीकर्ता समेत सोचमग्न बनेको सिबिफिनले बताएको छ। देशभित्र आफ्नो भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति र धनराशी पलायन भइरहेकोमा यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीमा पनि मनोवैज्ञानिक सन्त्रास फैलिएको सिबिफिनको भनाइ छ।

“कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानूनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ”, उसले विज्ञप्तिमा भनेको छ, “व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ ।”

कर्जा प्रवाह जस्तो नियमितरूपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सिबिफिनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट