मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी, राष्ट्रियसभाकाे किचलाे मन्त्रीमा मिलाइँदै !-Sutra News

मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी, राष्ट्रियसभाकाे किचलाे मन्त्रीमा मिलाइँदै !

शुक्रबार, १८ फाल्गुन २०८०

शुक्रबार, १८ फाल्गुन २०८०

काठमाडाैं । राष्ट्रियसभा अध्यक्षको रस्साकस्सीलाई लिएर सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठ्न थालेपछि सत्तारूढ दल नेपाली कांग्रेस मन्त्रीमण्डल पुनर्गठन गर्न सहमत भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष तहका नेताहरूबीच बुधबार साँझ भएकाे छलफलमा कांग्रेसले सहमति जनाएकाे स्राेतले बताएकाे छ ।



मन्त्रिपरिषद् पुनर्गठनमा सहमत दलहरूबीच राष्ट्रियसभा अध्यक्षकाे किचलाे पनि समाधान गर्ने सहमति भएकाे बुझिएकाे छ । स्राेतले बताएअनुसार राष्ट्रियसभा अध्यक्षमा दाबी पेश गरेकाे माओवादी केन्द्रले मन्त्री साटफेरमा सहमति जनाएकाे छ । कांग्रेससँगकाे सहमतिपछि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्न कुनै लिखित निर्णय नभएकाे भनि बताएकाे स्राेत भन्छ ।

कांग्रेस र माओवादी केन्द्रबीच फागुन २१ गतेभित्र नै अहिलेका सबै मन्त्री हटाएर नयाँ नियुक्त गर्ने समझदारी बनेकाे बुझिएकाे छ । बुधबार साँझ भएकाे छलफलअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेसलगायतका सबै सत्तारूढ दललाई एक साताभित्र नयाँ मन्त्रीको नाम पठाउन आग्रह गरेका छन् ।

मन्त्रीमण्डल पुनर्गठन गर्दा यसअघि कांग्रेसले सम्हाल्दै आएको अर्थमन्त्रालय माओवादी केन्द्रले लिने र माओवादी केन्द्रले सम्हाल्दै आएको गृह मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति भएको बुझिएकाे छ । जसमा कांग्रेसलाई पनि लाभ देखिन्छ । यो हप्ताभित्र मन्त्रीमण्डल पूनर्गठन गर्ने प्रधानमन्त्रीको कदममा साथ दिएर सत्ता गठबन्धनको भविष्यमाथि उठेका संशयको निरुपण गर्ने र राष्ट्रियसभा अध्यक्षमा आफ्ना उम्मेदवारलाई विजयी गराउने नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको रणनीति छ ।

अर्कोतिर, अहिले गृहमन्त्रालय सम्हालेका नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका नेताहरूलाई नै एकपछि अर्को अभियोगमा कारबाहीकाे डण्डा चलाउन थालेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गर्दा अर्थमन्त्रालय सम्हालेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको कार्यशैलीलाई लिएर प्रधानमन्त्री प्रचण्डले बुधबार अपरान्ह मात्रै पनि तिब्र असन्तुष्टि व्यक्त गरेका थिए भने संकटोन्मुख बन्दै गइरहेको अर्थतन्त्र उकास्न महतले कुनै ध्यान नदिएको भन्दै गुनासाे पाेख्दै आइरहेका छन् ।

अहिले मन्त्रालय परिवर्तनमा दुबै दलको स्वार्थ मिलेकाले मन्त्रालय परिवर्तन गर्न सहमति बनेकाे हाे । बताइएअनुसार नयाँ अर्थमन्त्रीमा माओवादीले वर्षमान पुनलाई अगाडि सार्ने तयारी गरेको छ ।

उसैपनि टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएका स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, बालकुमारीमा भएको गोलि प्रहार घटनामा मुछिएका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्टन्ट बाजीमा माहिर मानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राजीनामा मागेर संसदमा हंगामा मच्याई रहेकोमा प्रधानमन्त्रीलाई घोडा भनिएको भारतीय पूर्व जर्नेलको विषयलाई लिएर शुक्रबारको संसदमा प्रतिपक्षी दल परराष्ट्रमन्त्री एनपी साउदमाथी खनियो अर्थात् अब यो विषयलाई लिएर परराष्ट्रमन्त्री पनि अब विपक्षीको राडारमा परेका छन् ।

यस्तै, प्रधानमन्त्रीपुत्री रेणु दाहालले नेतृत्व सम्हालेको भरतपुर महानगरपालिकाको भ्रमण वर्षमा सहभागी हुन शुक्रबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्ड सहित, कांग्रेस सभापति देउवाले पनि वर्तमान गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका थिए । उता लगातार संसद छलेको आरोप प्रतिपक्षी दलले आरोप लगाउन थालेपछि आगामी फागुन २१ गते सम्बोधन गर्दै पत्र पठाउनुले पनि फागुन २१ अगाडि नै मन्त्रीमण्डल पुनर्गठन गरेर विपक्षी दललाई सरप्राईज दिने प्रधानमन्त्रीको तयारी छ ।

अर्कोतिर, बालकुमारी प्रकरणमा छानबिन समितिले दोषी देखाएको प्रतिवेदन पनि प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्ने जिम्मा दिएका कानुनमन्त्री धनराज गुरुङ र उर्जामन्त्री शक्तिबहादुर बस्नेतको म्याद पनि फागुन २० गते सकिँदै छ । जसको अर्थ २१ फागुनसम्म थप निर्णय गर्नुपर्ने दबाबमा प्रधानमन्त्री देखिएका छन् ।

अब बुधबारसाँझ बालुवाटारमा भएको सहमति बमोजिम मन्त्रीमण्डल पुनर्गठन गरेर प्रधानमन्त्री प्रचण्ड आफ्नो पुस १० को बटमलाईन पुरा गर्न उद्दत हुँदा मन्त्रीमण्डल पुनर्गठन गरेर राष्ट्रियसभा अध्यक्षमा आफ्ना उम्मेदवार विजयी गराउन देउवा सकारात्मक बन्दा तत्काल सत्ता गठबन्धन माथीको संकट समाधान उन्मुख देखिएको राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट