काठमाडौं । आगामी फागुन २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’को नाममा चलचित्र जाँच पास समितिले प्रमाणपत्र दिन अस्वीकार गरेको कुरालाई लिएर यति बेला चर्चा भइरहेको छ ।
चलचित्र सेन्सर बोर्डले फिल्मको शीर्षक कारण पछि समस्या उत्पन्न हुने भन्दै निर्मातालाई तत्कालकालागि प्रमाणपत्र दिन नसकेको बताएको छ ।
यो विषयमा सेन्सरका एक सदस्य भन्छन्, ‘हामीले फिल्मलाई रोकेका होइनौ । नामका कारण भोलिका दिनमा समस्या पर्छ कि भनेर सम्बन्धित रङ्गेली नगरपालिकाको सिफारिस पत्र लिएर आउन भनेका हौँ । नामको सिफारिस पत्र आएपछि सर्टिफिकेट दिन्छौँ ।’
पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानीय नगरपालिकाको सहमति पत्र ल्याएपछि मात्र फिल्मले प्रमाणपत्र पाउने सेन्सर बोर्डले जनाएको छ । सेन्सर सदस्यका अनुसार, निर्माण टिमले गाउँपालिकाको सिफारिस ल्याउन सकिने बताएको छ । यसैले, सिफारिस पत्र ल्याएपछि सेन्सर प्रमाणपत्र दिने तयारी गरिएको बताए ।
विशेष गरी, गृह मन्त्रालयका सदस्यको नाममा आपत्ति भएपछि सेन्सरको पत्र दिन आनाकानी गरिएको हो । यसअघि केही फिल्ममा पनि नामका कारण स्थानीयहरूले आपत्ति जनाएपछि सेन्सर बोर्ड हच्किएको बुझिएको छ । फिल्मको विषयवस्तुमा भने सेन्सर बोर्डले कुनै पनि काँटछाँटको कुरा गरेको छैन ।
अर्जुन सुवेदीले निर्देशन गरेको फिल्मलाई ग्याङस्टर जनरामा निर्माण गरिएको हो । रङ्गेली सहरमा राज गर्न चाहने समूहबीचको द्वन्द्वमा आधारित भएर फिल्म बनेको छ ।
फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ । फिल्मको शीर्षक कारण पछि समस्या उत्पन्न हुने भएकाले सम्बन्धित गाउँपालिकाको सिफारिस पत्र नआउन्जेल फिल्मको रिलिज अन्योल बनेको छ ।