शिक्षाको स्तर वृद्धि गर्न विद्यालयलाई एक करोड सहयोग-Sutra News

शिक्षाको स्तर वृद्धि गर्न विद्यालयलाई एक करोड सहयोग

शनिबार, १९ फाल्गुन २०८०

शनिबार, १९ फाल्गुन २०८०

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका ४ सिंगास्थित धवलागिरि माविलाई एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ ।



दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनः मिलन अभियानमार्फत सो रकम संकलन भएको हो ।

विं.सं. २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।

संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए । गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नु पर्ने समस्या हटेको छ ।

२४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म २०७ जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका ४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहेका लालबहादुर केसीले सबैभन्दा बढी २५ लाख सहयोग गरेको संयोजक सापकोटाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहेका उनले हजुरआमा गौमति खत्रीको स्मृतिमा सो रकम सहयोग गरेका हुन् । विद्यालयमा हाल करिब २५० विद्यार्थी अध्ययनरत छन् ।

श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट