काठमाडौं । उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
ना १ ज ८३३३ नम्बरको जिप दुर्घटनामा परेर कटारी नपा ८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो । वडाध्यक्ष नवीन तामाङका अनुसार कटारी ७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ ।
घटनामा गम्भीर घाइते लालकुमारीको कटारी अस्पतालमा उपचार सम्भव नभई थप उपचारका लागि विराटनगर पठाइएको थियो । लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईले बताए ।
जिप चालक कटारी ८ का ३३ वर्षीय थर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ थियो । राईका अनुसार शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी ७ मर्जेतपुरमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर १३ जना घाइते भएका थिए । घाइतेमध्ये अहिले आठ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।