रुपन्देही । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् ।
पार्टीको क्षेत्रीय कार्य समिति, क्षेत्र नं ३ रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता औँल्याए ।
“जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुन सक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ, तर गठबन्धन पाँच वर्षका लागि चलाउनु पर्छ”, मन्त्री साउदले भने, “प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।”
फरक प्रसङ्गमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भारतबाट हुन सक्ने सहयोगका लागि विभिन्न भ्रमणका बेला गम्भीर रुपमा कुरा राखेको बताएका थिए ।