काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आजको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १५.२ ओभरमा भेट्टाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १२ रन बनाए । अर्का ओपनर आसिफ शेखले ८ रन बनाएर पेभेलियन फर्किए । गुल्सन झाले ३८ रन बनाए ।
यस्तै, कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले चार रन बनाउँदा कुशल मल्लले दुई रन बनाए । ऐरी र मल्ल अविजित रहे ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० को योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए ।
यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए । बलिङतर्फ नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए । करण केसी र कुशल मल्लले समान दुई-दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
योसँगै प्रतियोगितामा शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि नेपाललाई सहज भएको । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो ।