काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढंगले सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृह मन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए ।
फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेल उक्त विद्यालयको छात्राबासमा मृत फेला परेकी थिइन् ।
उनीहरुले घटनाको चाँडो छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन र भविष्यमा यस्ता किसिमका घटना हुन नदिन दीर्घ कालीन उपाय अपनाउन, विद्यालय र छात्राबासको सुरक्षा तथा गुणस्तरका लागि नीतिगत सुधार गर्न पनि आग्रह गरे ।
‘शालिनको मृत्यु आपराधिक घटना’
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चितवनमा बालिका मृत्यु प्रकरणबारे सरकारले गृह मन्त्रालयअन्तर्गत मातहतका निकायले छानबिन गरिरहेको जानकारी पाएको भन्दै उक्त अपराधिक घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गरिनु पर्ने माग गरे ।
“दुःखद घटना सरकारको जानकारीमा आइसकेको छ । यसबारे गम्भीर रुपमा छानबिन भइरहेको छ । बालिका मृत्यु प्रकरण अपराधको घटना हो”, समितिको बैठकमा मन्त्री राईले भने, “घटनाको कडाइका साथ अध्ययन अनुसन्धान गरिनुपर्छ । हत्या वा आत्महत्या भए पनि दुरुत्साहनको अवस्थामा पुर्याउने परिस्थितिबारे अनुसन्धान जरुरी छ ।”
उनले छात्राबास निर्देशिकाको कडाइका साथ पालना गर्ने, विद्यालय तथा छात्राबासको प्रभावकारी अनुगमन र नियमन गर्नु पर्नेमा जोड दिए ।
शिक्षामन्त्री राईले बालिका मृत्युको घटना अत्यन्तै पीडादायी भएको भन्दै आत्महत्या र बलात्कारपछि हत्याका घटना बढिरहेकाले यसलाई न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय गम्भीर हुनु पर्नेमा जोड दिए ।