के अर्थमन्त्री महतका कारण टुटेको हो कांग्रेस-माओवादी गठबन्धन ?-Sutra News

के अर्थमन्त्री महतका कारण टुटेको हो कांग्रेस-माओवादी गठबन्धन ?

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहित चार दलबीच नयाँ गठबन्धन बनाउने सहमति भएसँगै करिब एक वर्षपछि देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बिमुख भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले आफूलाई काम गर्न नदिएकाे भन्दै एमाले, रास्वपा, जसपासहितको नयाँ गठबन्धन बनाउन सहमत भएसँगै नेपाली कांग्रेस समेत सम्मीलित गठबन्धन किन टुट्यो भन्ने विषयले चर्चा पाएको छ ।



आवरणमा राष्ट्रिय सभाको अध्यक्षको लागि रस्साकस्सी, कोशीमा राष्ट्रियसभाको निर्वाचनमा भएको अन्तर्घात, नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका दस्तावेज र गठबन्धनको विषय तथा संक्रमणकालीन न्याय सम्बन्धि विवाद देखिए पनि वर्तमान गठबन्धन टुट्नुको मुख्य कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भएको बालुवाटार निकट उच्च स्रोतको दाबी छ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि माओवादीले अर्थ मन्त्रालय नपाएपछि वर्तमान गठबन्धन फेरेको आरोप लगाउनुले पनि अहिले गठबन्धन टुट्नुमा राष्ट्रियसभा अध्यक्षको पदमात्रै नभएको बुझ्न कठिन छैन ।

प्रधानमन्त्री प्रचण्डले नै उच्च प्राथमिकतामा राखेका फाइल अगाडि नबढाउने एवम् कतिपय अवस्थामा प्रधानमन्त्रीको निर्देशनलाई नटेर्नेलगायतका व्यवहार अर्थमन्त्री महतबाट हुन थालेपछि प्रधानमन्त्री प्रचण्डले पटकपटक कांग्रेस सभापति शेर बहादुर देउवासँग गुनासो गरेपनी देउवा महतलाई हटाउन तयार नभएपछि प्रचण्ड नेकपा एमालेतिर ढल्किएको स्रोतको दाबी छ । प्रधानमन्त्रीले अर्‍हाएको काम नगरी आफूखुसी गर्दै हिड्ने समस्याप्रति गएको बिहीबार सार्वजनिक रूपमै गुनासो समेत गरेका थिए ।

कांग्रेस समेत सहभागी वर्तमान गठबन्धन टुटेपछी सन्चारमाध्यम सँगको कुराकानीको क्रममा कांग्रेस नेता विश्वकर्माले प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयमा दाबी गरिरहेको र कांग्रेस अर्थ मन्त्रालय छोड्न तयार नभएपछि माओवादीले गठबन्धन नै परिवर्तन गरेको उनको दाबी छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आइतबार पार्टी संसदीय दलको बैठकमा अर्थमन्त्रीकै कारण कांग्रेस-माओवादी गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका थिए । उक्त बैठकमा ओलीले कांग्रेस र अर्थमन्त्री महतको आलोचनामै समय खर्चिएको बैठकमा सहभागी एक सांसदले बताए ।प्रधानमन्त्री प्रचण्डले पनि निकटस्थहरूसँग मुख्य समस्या अर्थमन्त्रीकै कारण आएको ब्रिफिङ गरेका छन् ।

आफूलाई काम गर्न अप्ठ्यारो भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग कांग्रेसबाट जो भएपनि हुन्छ, अर्को अर्थमन्त्री चाहियो भन्ने गरेका थिए ।

तर, देउवाले कुरै नसुनेपछि प्रचण्ड गठबन्धन बदल्ने मनस्थितिमा पुगेको स्रोतको दाबी छ । अर्थमन्त्री चेन्ज गर्न कांग्रेस सभापति देउवा तयार नभएपछि प्रधानमन्त्रीले नयाँ ढंगबाट सोच्नुभएको हो, बालुवाटार स्रोतको दाबी छ ।

२०७९ को पुस १० मा एमाले-माओवादी गठबन्धन बन्नुको पृष्ठभूमिमा पनि महत नै थिए । महतसहितका नेताले कुनै पनि हालतमा प्रचण्डलाई प्रधानमन्त्री दिनु हुँदैन भनेर देउवालाई उक्साएको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट