काठमाडौं । अभिनेत्री आँचलको व्यस्तता यतिवेला निकै बढेको देखिन्छ । कम फिल्म खेले पनि दर्जनौँ फिल्म खेले सरह चर्चा कमाएकी आँचलको हातमा फिल्म नै फिल्म छन् । उसो त, विवाहपछि आफूलाई अझ मेन्टेन गरेकी उनी हिरोइन भनेको यस्तो हुनुपर्छ भन्ने उदाहरण दिन सफल भइरहेकी छिन् ।
यस्तैमा हालै मात्र फिल्म ‘डिग्री माइला’को छायांकन सकाएकी आँचल अहिले फिल्म ‘एक मुठ्ठी बादल’को वर्कसपमा व्यस्त छिन् । यो फिल्मको छायांकन सकेपछि आँचलले केही दृश्यको छायांकन बाँकी रहेको फिल्म ‘बर एण्ड बधु’को छायांकन सक्ने योजना बनाएकी छिन् ।
उनले, यसपछि ‘दुःखी आत्मा’का लागि सेड्यूल पनि तयार पारेकी छिन् । यति धेरै फिल्महरू हातमा हुँदा हुँदै पनि आँचलका दुई वटा फिल्म भने नबन्ने जस्तै देखिएको छ । जसमा हामी पहिलो नम्बरमै फिल्म ‘राज महल’लाई लिन सक्छौँ ।
यो फिल्मको केही महिना अगाडि नै पाँच तारे होटेल याक एण्ड यतीमा शुभ साइत गरिएको थियो । शुभ-साइत गरिएको यतिका महिना बितिसक्दा पनि फिल्म सुटिङमा जाने अझै टुङ्गो लागेको छैन । यस्तोमा अब फिल्म नबन्ने पो हो कि भन्ने खालका गसिप बजारमा आउन थाली सकेका छन् ।
यो भन्दा अगाडि पनि पाँच तारे होटलमै लगभग २१ वटा फिल्महरू बन्ने भन्दै यसरी नै तामझामका साथमा घोषणा गरिएका छन् । अहिले सम्म ती फिल्महरू बन्न सकेका छैनन् । सोही फिल्महरुको उदाहरण दिँदै पत्रकारहरूले यस फिल्मको घोषणा कार्यक्रममा ‘कतै यो फिल्म पनि अरू जस्तै घोषणा मै सीमित हुने त हैन नी ?’ भन्दै निर्माण टिमलाई प्रश्न समेत गरेको थिए । जसमा निर्माण टिमले हर हालमा फिल्म बन्ने जानकारी दिइएको थियो ।
पौषमा शुभ-साइत गर्दै यसको निर्माणपक्षले माघको पहिलो साताबाट छायांकन प्रारम्भ गर्ने बताएको थियो । तर, फिल्मको छायांकन नै अन्योलमा देखिएको छ । अरू त अरू हामीले प्राप्त भएको जानकारी अनुसार अहिले यो फिल्मका कलाकारहरूलाई कहिलेबाट काम सुरु हुन्छ भन्ने केही जानकारी नभएको र शुभ-साइत समारोह भएको महिनौँ बितिसक्दा अझै फिल्मको छायांकन सुरु हुने अत्तोपत्तो नभएको बताइएको छ ।
सविन कुमार तोलाङ्गीको निर्देशनमा तयार हुने भनिएको यो फिल्मले राजमहल भित्रको कथा उठान गर्ने बताइएको थियो । यो फिल्ममा आँचलको साथमा रमेश उप्रेती, सलोन बस्नेत, मिथिला शर्मा, सिम्रन पन्त, मिस पवि लगायतका कलाकारले अभिनय गर्ने पक्का भएको थियो । यतिका पक्का पक्की हुँदा हुँदै पनि अब यो फिल्म नै नबन्ने जस्तो देखिएको छ ।
यसै गरी, आँचलको अर्को फिल्म ‘पञ्चामृत’ पनि अड्किएको देखिन्छ । मुस्कान ढकालको निर्देशनमा बन्ने भनिएको यो फिल्मको पनि धेरै समय अघि घोषणा गरिएको थियो । घोषणा भएको कयौँ महिना बित्ता सम्म यो फिल्म फ्लोरमा जान सकेको छैन । यस फिल्ममा आँचलका साथमा नायक धिरज मगर र सौगात मल्ल पनि देखिने पक्का पक्की भएको थियो । यी तिन सेलिव्रेटिलाई एकैसाथ पर्दामा हेर्न दर्शक समेत आतुर थिए । तर, यो फिल्मको पनि छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने अत्तोपत्तो नभएको बुझिन्छ।