काठमाडौं । नेपालमा सत्ता गठबन्धन परिवर्तन भएसँगै विदेश भ्रमणमा रहेका एक जना मन्त्रीको पद गुमेको छ । नयाँ सत्ता समीकरणका कारण दुबई भ्रमणमा रहेका श्रममन्त्री शरदसिंह भण्डारी स्वदेश फिर्ता हुँदासम्म पद गुमेको हो ।
भण्डारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाट १६ औँ पटक मन्त्री बनेका थिए । दुबईमा रोजगार मेलामा सहभागी हुन १९ फागुनमा पुगेका उनी नेपाल फर्किन नपाउँदै पद खुस्किएको हो ।
उनी श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती पत्रकारको टोलीसहित दुबई भ्रमणमा पुगेका थिए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच एक साता लामो संवादपछि नयाँ सत्ता समीकरण बनेको हो ।
नयाँ सत्ता गठबन्धन बनेसँगै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।