काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बृद्धिका बीच एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा उक्लिएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुनकाे मूल्य रेकर्ड राख्नेगरी बृद्धि हुँदा चाँदीकाे मूल्यमा पनि ह्वात्तै बृद्धि भएकाे छ । महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।