प्रवीण खतिवडा भन्छन्- ‘रङ्गेली’मा फिल्मी शैलीको पुलिस छु, दर्शकले दोहोरो कनेक्सन भेट्नुहुन्छ-Sutra News

प्रवीण खतिवडा भन्छन्- ‘रङ्गेली’मा फिल्मी शैलीको पुलिस छु, दर्शकले दोहोरो कनेक्सन भेट्नुहुन्छ

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । यही शुक्रवार रिलिज हुने फिल्म ‘रङ्गेली’मा अभिनेता प्रविण खतिवडा प्रहरी अफिसर छन् । उनको पात्रको नाम मान बहादुर ढकाल छ । उनी फिल्मको ट्रेलरमा चौथो काल, मान बहादुर ढकाल भन्दै गोलाबारी गरिरहेको देखिन्छन् । प्रविणको भनाइमा उनको प्रहरी अफिसरु चरित्र अनुशासनमा नबस्ने किसिमको रहेको बताउछन् ।



प्रविणका अनुसार उनलाई ‘रङ्गेली’मा तडकभडक भइरहेको बेलामा त्यो तडकभडकलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा फिल्ममा देख्न सकिनेछ ।

प्रविण भन्छन्, ‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर फिल्मी शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । फिल्मी हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छु । मैले त्यो माहौललाई आफ्नो हातमा लिनलाई अथवा त्यो माहौल सुल्झाउनलाई मैले गर्ने चलखेल पनि चलचित्रमा छ । पात्रलाई घुमाउने, कसलाई ठोक्ने, कसलाई जोगाउने भन्ने निर्णय लिने मेरो चरित्र छु ।’

उनलाई प्रहरी अफिसरको चरित्र निभाइरहँदा निकै मज्जा लागेको रहेछ । उनका अनुसार आफ्नो चरित्र निभाउनु अघि त्यसमा देखिएका ‘पोलिटिकल्ली इनकरेक्ट’ कुराहरूलाई कसरी डिल गर्ने भनेर अन्य कलाकार र निर्देशकसँग छलफल गरिएको थियो ।

प्रविणले सञ्चारमाध्यममा आर्थिक क्रियाकलापमा प्रहरीको छविका समाचार नपढेका, नहेरेका र नसुनेका होइनन् । ती समाचारको अनुभवले पनि प्रहरीलाई त्यस्तै चरित्रमा फिल्ममा देखाइएको रहेछ भन्ने लाग्दो रहेछ । ‘तर त्यस्तो हुनुपर्छ त भन्ने भन्दा पनि हुनुहुँदैन भन्ने पक्षमा वकालत गर्ने मान्छे हो म । कानुनको रक्षा त्यसरी नै गरिनुपर्छ, इमानदार भएरै गरिनुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने उसलाई पनि कानुनी दायराभित्र ल्याउनुपर्छ भन्ने वकालत नै गर्छु’, उनी भन्छन् ।

उनले प्रहरी चरित्र निभाइरहँदा प्रहरीलाई राजनीतिभन्दा अलग राखेर ‘ट्रिट’ गर्ने राम्रो व्यवस्थापन भएमा कानुनको रक्षा हुने बुझेका रहेछन् । ‘यदि राजनीतिक रूपमा प्रहरीलाई चलाउन थाल्ने हो भनेदेखि यस्ता खालका घटनाहरू समाजमा अझ बढ्नेछन् भन्ने अनुभव भयो’, प्रविणले भने ।

प्रविण आफ्नो चरित्रलाई दर्शकले फिल्ममा हेरिरहँदा एक दुई वटा काम यसले ठिकै ग¥यो भन्ने अनुभव हुनसक्ने अनुमान लगाउँछन् । ‘एक दुई वटा काम यसले गलत गरेको छ भन्ने पनि लाग्छ होला । प्रशासनसँग शक्ति हुँदो रहेछ । त्यो शक्तिले कहीँ न कहीँ अलिकति दमनको स्थिति ल्याउँदो रहेछ । चाहे त्यो पात्रलाई होस् या आफ्नै समाजमा ज्यूँदा पात्रहरूलाई होस् । शक्तिले अलिकति डोमिनेट गर्दो रहेछ । त्यो खालको प्रवृत्ति चाहिँ हुनुहुँदैन । मलाई प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेमा मात्र समाजमा शान्ति सुरक्षा हुन्छ भन्ने लागेको छ’, प्रविण भन्छन् ।

के उनको चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्न सक्ला त ? प्रविण आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्ने दाबी गर्छन् । ‘किनभने फिल्म हेरिसकेपछि यस्तै खालको प्रहरी भेटेका थियौँ अथवा ओहो यस्तै खालको आयो भने के हुने हो भन्ने कुरा दर्शकको मनमा उब्जिन सक्छ । त्यो अगाडिको प्रहरी यस्तै थियो भन्ने जस्तो पनि लाग्छ । दर्शकले फिल्ममा दोहोरो कनेक्सन भेट्नुहुन्छ’, उनी भन्छन् ।

फिल्म ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट