पशुपतिनाथ क्षेत्रमा महाशिव रात्रि पर्वको तयारी, मासु र मदिरा बेच्न बन्द-Sutra News

पशुपतिनाथ क्षेत्रमा महाशिव रात्रि पर्वको तयारी, मासु र मदिरा बेच्न बन्द

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । महाशिव रात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो ।



महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ । पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौ‌ले सूचना जारी गरी भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।

पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाई भव्य रुपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको हो ।

पशुपतिनाथ क्षेत्रमा तोकिएका चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको विकास कोषले जनाएको छ ।

पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदै छ । मन्दिर आसपासका क्षेत्रमा फूल र बत्तीको सजावट सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा सजावटको काम सुरु भएको जनाएको छ । मन्दिर आसपासका क्षेत्रमा सरसफाइदेखि फूल तथा विभिन्न रङले सिंगार्ने कामसम्म सुरु गरिएको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए ।

कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको बताए । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजाआराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ । कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट