प्रचण्ड र ओलीले पाएको ‘तेस्रो अवसर’, जोगाउने सम्भावना कति ?-Sutra News

प्रचण्ड र ओलीले पाएको ‘तेस्रो अवसर’, जोगाउने सम्भावना कति ?

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । संसदीय अभ्यासमा सैद्धान्तिकरुपमा खास भिन्न नभएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) किन अलग–अलग भइरहने भन्ने प्रश्न निरन्तर उठिरहेको पाइन्छ । विशेषगरी संविधान जारीपश्चात दलहरु नजिकिने परिस्थिति पनि सोही कारण बनेको धेरैको बुझाइ छ । २०७४ को आम निर्वाचनमा गठबन्धन बन्ने परिस्थिति पनि सोही बुझाइका कारण सम्भव बनेको थियो ।



२०७५ जेठ ३ मा पार्टी एकता गर्ने परिस्थिति बन्नुमा मुख्य कारण पनि दुवै पार्टीभित्रको आन्तरिक समीक्षा र बाम एकताको पक्षमा देखिएको जनमत थियो । यद्यपि, त्यो एकता तीन वर्ष पनि टिक्न सकेन । एकतापछि नेतृत्वभित्र जन्मिएको व्यक्तिगत टकरावले संसद विघटन हुँदै अदालती उपायको प्रयोग गरी फेरि पुरानै अवस्थामा दलहरु फर्किने परिस्थिति बन्यो । २०७७ फागुन २३ मा सर्वोच्चले गरेको फैसला आन्तरिक विवादलाई वैद्यता दिने उपाय मात्रै थियो ।

तत्कालिन समय बाम एकताको पक्षमा देखिएको अनौठो उभारलाई दलहरुले छिन्न–भिन्न मात्रै बनाएनन्, बाम आन्दोलनलाई बिर्सजन गराउने दिशातिर पनि फर्काए । बाम एकताको लागि पाएको पहिलो अवसर तत्कालिन समय खेर फालेको विश्लेषण राजनीतिमा तहमा गरेको पाइन्छ ।

पछिल्लो तीन वर्षको बीचमा राजनीतिमा ठूलो उथलपुथल आयो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अंशहरु थुप्रै खण्डमा बाँडिने अवस्था बन्यो ।

नेकपा विघटनपछि भएका निर्वाचनमा पनि दलहरु बाँडिएर गए । जसको परिणाम दुई तिहाईको तहमा देखिएको जनमत करिब एक तिहाइको हाराहारीमा आयो । तत्कालिन नेकपाबाट बनेका चार पार्टी (एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र आम जनता पार्टी) मिल्दा पनि बहुमत नपुग्ने अवस्था बन्यो ।

यद्यपि, निर्वाचनको नतिजापछि २०७९ पुस १० मा फेरिएको नाटकीय घटनाक्रमले मुख्यगरी एमाले र माओवादी केन्द्रलाई फेरि एकपटक सँगै उभ्यायो । एमाले र माओवादी केन्द्रको नेतृत्वमा सत्ता चलाउने परिस्थिति पनि बन्यो । तर बिडम्बना, व्यक्तिगत टकरावका कारण साढे दुई महिना पनि दलहरु एक ठाउँमा रहेनन् । राष्ट्रपति निर्वाचनको संघारमा २०७९ फागुन १५ मा दलहरु फेरि छुट्टिए । दोस्रो पटक पुनः दलहरुले वाम सहकार्यको अवसर गुमाएका थिए ।

अहिले पुनः एक वर्षपछि एमाले र माओवादी केन्द्रबीच सहकार्य गर्ने परिस्थिति बनेको छ । आइतबार मध्यरातको सहमतिपछि दलहरु नयाँ गठबन्धन बनाउँदै अगाडि जाने तयारीमा जुटेका छन् । एमाले र माओवादी केन्द्रबीच बाम पक्षधरलाई समेटेर जाने तयारी देखिन्छ । दलहरुबीच आगामी निर्वाचनसम्म सहकार्य गरेर जानेगरी छलफल भएको छ । तर, फेरि तेस्रो पटक पाएको अवसर जोगिएला कि नजोगिएला प्रश्न कायमै छ ?

बाध्यकारी परिस्थितिले सहकार्य

एमाले र माओवादी केन्द्रबीच फागुन २० को मध्यराति गठबन्धन बनाउने सहमति बन्नुमा विशेषगरी आन्तरिक कारण नै हाबी भएको देखिन्छ । माओवादी केन्द्रका नेता गणेश शाह विशेषगरी कांग्रेस महासमिति बैठक, एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको समीक्षा नै गठबन्धन फेरबदलको आधार बनेको बताउँछन् ।

“जसरी कांग्रेस महासमिति बैठकमा गठबन्धनको सन्दर्भमा समीक्षा भयो, माओवादीसँगको सहकार्यको सन्दर्भमा नेताहरुका अभिव्यक्ति आए, सोही ढंगबाटै एमाले र माओवादी केन्द्रको केन्द्रीय समितिमा पनि समीक्षा भयो”, माओवादी केन्द्रका सचिव गणेश शाह भन्छन्, “तीनै दलको आन्तरिक समीक्षा गठबन्धन परिवर्तनको मुख्य कारक हो ।”

यद्यपि, एमाले र माओवादी केन्द्रभित्र केही महिनादेखि नै वाम गठबन्धन बनाउने सन्दर्भमा भने छलफल चलिरहेको थियो । जुन छलफलको प्रतिफल पनि अहिलेको गठबन्धन बन्नमा सहयोगी बनेको उनको बुझाई छ ।

“एमाले होस् वा माओवादी दुवैभित्र बाम गठबन्धन बनाउन पर्छ, पार्टी एकता नगरेपनि बामहरुबीच सहकार्य गरेर जानुपर्छ भन्ने मत जबरजस्त छ”, शाहले भनेका छन्, “अहिलेको गठबन्धन निर्माणमा त्यो मतको प्रयोग भएको हो । दुवै पार्टीभित्रको समीक्षा पनि हामी कमजोर भयौं भन्ने छ ।”

सँगै, भूराजनीतिक प्रभाव पनि गठबन्धनका निम्ति सहायक रहेको बुझाई राजनीतिक तहमा देखिन्छ । कांग्रेस एकाएक धर्म निरपेक्षताको विरुद्धमा उत्रिनुमा पनि दुई दलभित्र सन्देह उत्पन्न भएको पाइन्छ । माओवादी नेता शाह कांग्रेसभित्र धर्मनिरपेक्षताको सन्दर्भमा यत्तिकै बहस नचलेको बताउँछन् ।

“कांग्रेस एकाएक धर्मनिरपेक्षताको विरुद्धमा उभियो, दलाई लामालाई स्वागत गर्ने कुरा पनि सुनिन थाल्यो, यसमा धेरै इन्टेष्टहरु जोडिएका देखिन्छन्”, उनले भनेका छन्, “गठबन्धन निर्माणमा भूराजनीतिक अवस्थाको ‘रियलाइजेसन’ पनि एक फ्याक्टर अवश्य हो ।”

गठबन्धन टिक्ला ?

दुई पटकका उदाहरण हेर्दा गठबन्धन टिकिरहन्छ भन्ने आधारहरु कमजोर देखिन्छ । यद्यपि, दलहरुभित्रको समीक्षाअनुसार पछिल्लो सहकार्य बाध्यकारी बनेको छ ।

“यदि फेरि पनि एक–आपसमा लडाइँ गरिरहने हो भने आगामी निर्वाचनबाट खोज्न पर्ने परिस्थिति बन्छ भन्ने विश्लेषण हामीभित्रको हो, एमाले र माओवादी केन्द्र दुवैको आन्तरिक समीक्षा कमजोर भयौं भन्ने हो”, माओवादी नेता शाहले भनेका छन्, “पछिल्लो सहकार्य बाध्यकारी हो । यो टिकाउन नसके हामी आफैं सकिन्छौं ।”

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि बामपन्थीहरु नमिलि सुखै नहुने परिस्थितिमा पुगेको बताउँछिन् । आन्तरिक र बाह्य कारणले पनि दलहरु एक ठाउँमा उभिनुपर्ने परिस्थिति बनेको उनको बुझाई छ ।

“जसरी बाह्यरुपमा हस्तक्षेप बढिरहेको छ, जसरी आन्तरिक राजनीतिमा ठूलो फेरबदलको अवस्था देखिँदैछ, यो परिस्थितिमा नमिलि हुँदैन, यो अवसरलाई जसरी पनि जोगाएरै जानुपर्छ”, उनले भनेकी छिन् ।

अहिले विशेषगरी दक्षिणपन्थी विचारधाराका दलहरुबीच गठबन्धनको तयारी बनिरहेको छ । नेपाली कांग्रेसले हिन्दु राष्ट्रको एजेन्डा बोक्दै गर्दा राजनीतिमा ठूलो धुव्रिकरणको सम्भावना बढेको देखिन्छ । राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई त्यो धुव्रिकरण वामपन्थीका लागि घातक हुने बताउँछन् ।

यदि त्यो धुव्रीकरणका बीच विभाजित भएर गएमा वामपन्थीहरुलाई शिला खोजेजस्तै खोज्नुपर्ने परिस्थिति आउने उनको विश्लेषण छ ।

“मुलुक राजनीतिक हिसाबले ठूलो धुव्रिकरणको संघारमा छ, परिवर्तनविरोधी पक्षधर एक हुँदै गएको देखिन्छ, यस्तोमा वाम राजनीतिक शक्तिहरु बाँडिदा स्वतः कमजोर हुनेछन्”, उनले भनेका छन्, “अब पनि विभाजित भएर गए भने उनीहरु आफैं सकिने परिस्थितिमा जान्छन् । यो वामपन्थी आन्दोलनलाई जोगाउने अन्तिम अवसर हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट