काठमाडौं । एमाले–माओवादी गठबन्धनले पूर्णता नपाउँदै मन्त्रालय भागवण्डाको विषयमा रडाको सुरु भएको छ । विशेषगरी अर्थ र गृह मन्त्रालयलाई लिएर गठबन्धन तीन दल एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि रडाको सुरु भएको हो ।
सत्ता नेतृत्वकर्ता माओवादी केन्द्रले दुवै मन्त्रालयमा आफ्नो दाबी प्रस्तुत गरेको छ भने एमालेले दुई मन्त्रालयमध्ये एउटामा दाबी गरेको छ । यता रास्वपाले पनि दुई मन्त्रालयमध्ये एउटामा आफ्नो दाबी प्रस्तुत गरेको छ । विशेषगरी गृहमन्त्रालयमा रास्वपाले आफ्नो अडान नै राखेको छ ।
रास्वपा सभापति रवि लामिछाने स्वयम् गृहमन्त्री बन्ने चाहनामा छन् । उनले उपप्रधानसहित गृहमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । यसअघि गृहमन्त्री बनिसकेका लामिछानेको नयाँ सत्ता समीकरणमा इन्ट्री हुनुको उद्देश्य नै गृहमन्त्री बन्ने योजना देखिन्छ ।
सँगै अन्य महत्वपूर्ण मानिने मन्त्रालयहरुमा पनि दोहोरो तेहोरो दाबी परेपछि विवादको अवस्था देखिएको छ । भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, पर्यटन, शहरी विकास, संघीय मामिलालगायतमा पनि दलहरुले आ–आफ्ना दाबी अघि सारेका छन् ।
नेताहरुका अनुसार आज नै केही मन्त्रालयको विषयमा भागवण्डा टुंग्याउने तयारी छ । जसको लागि गठबन्धनको बैठक बोलाइएको छ । तर, विशेषगरी गठबन्धन निर्माणका चार दलबीच सुरु भएको भागवण्डाको किचलो नै कसरी समाधान गर्ने अन्योल बनेको बताइएको छ ।