काठमाडौं । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएकाे छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति धनराज गुरूङले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए। ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ’, बैठककाे निर्णयबारे उनले भनेका छन्, ‘अब कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर बैठक सकियो ।’
प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नयाँ सत्ता समीकरण बनाएका थिए। नयाँ सत्ता समीकरणबाट तीन जना मन्त्रीले साेमबार नै सपथ लिइसकेका छन् । जससँगै तत्कालिन गठबन्धनका सबै मन्त्री स्वतः पदमुक्त भएका छन् ।
गत वर्ष पुस १० मा बनेको गठबन्धन भत्किएपछि फागुन २५ मा राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो । तर, आन्तरिक असमझदारी बढ्दै जाँदा पुनः पुरानै गठबन्धन ब्यूँतिएको छ र कांग्रेस प्रतिपक्षीको बेन्चमा पुगेको छ ।