पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै-Sutra News

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो ।



विं.सं. २०७९ देखि ०८० मंसिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना संकलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

०७६ देखि ०८० मंसिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी संकलन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले जानकारी दिए ।

कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य एक लाख २१ हजार र प्रतितोला चाँदीको मूल्य एक हजार ४१० कायम गरिएको छ । सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ ।

बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन् । भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट