धादिङ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीमा दुर्घटनामा परेको छ ।
आज बिहान भएको दुर्घटनामा एक महिलासहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।
उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
–––