काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन बुधबारबाट भएको छ ।
‘दिमाग खराब’ लेखक आकाश बरालको डेब्यू निर्देशन रहेको यो फिल्मको शुभसाइतसँगै केही दृश्य खिचिदै छायांकन सुरु गरिएको हो ।
ब्ल्याक हर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुने यस फिल्मकालागि निर्देशक आकाशसँग निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले सहकार्य गर्दैछन् । बरालले ‘दिमाग खराब’का अलावा, ‘चपली हाइट-३’, ‘बीए पास’, ‘हल्कारा’लगायत ८ फिल्म लेखिसकेका छन् ।
कमेडी कथामा निर्माण गरिने यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी समेत रहेको छ । यस फिल्मलाई नायिका स्वस्तिमा खड्काले निर्माण गर्दैछिन् । निर्मात्रीको रुपमा स्वस्तिमाको यो पहिलो फिचर हो । आफ्नै होम प्रोडक्शनको फिल्म भएका कारण स्वस्तिमाले नयाँ फिल्म पनि साइन गरेकी छैनन् ।
साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार हुने यो फिल्ममा निश्चल र स्वस्तिमा अपोजिट भूमिकामा देखिनेछन् । उनीहरुका अलावा फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारको पनि अभिनय छ ।
चर्चित निर्माण नियन्त्रक शंकर पाण्डेले यो फिल्मबाट कार्यकारी निर्माताको रुपमा डेब्यु गर्दैछन् । नरेन्द्र मैनालीको छायांकन रहने यो फिल्मको कार्यकारी निर्मातामा शंकरसहित फिरोज खड्का पनि छन् ।
निश्चलले यसपछि आफ्नै निर्देशनमा एक्सन फिल्म बनाउँदैछन् । उनले, वि.सं २०८३ सालमा फिल्म ‘दिमाग खराब २’ रिलिज गर्ने घोषणा समेत गरिसकेका छन् ।