काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेपछि प्रधानमन्त्रीले पहिलोपटक प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । सोमबार मात्रै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका थिए ।
प्रधानमन्त्रीले कांग्रेसप्रति आभारी भएको बताउँदै आफूहरूको सम्बन्ध व्यक्तिगत रुपमा राम्रै भएको बताए । ‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहालका रुपमा म कुन समस्यामा थिइनँ, मेरो प्रधानमन्त्री पद पनि असुरक्षित थिएन, करिब ११ महिना लामो पछिल्लो साथ र सहकार्यप्रति नेपाली कांग्रेसका सभापति साथीहरुप्रति आभारी छु,’ उनले भने, ‘तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक रुपमा केन्द्रीत हुने रैछ त्यही भयो ।’
उनले कांग्रेससँगको सत्ता गठबन्धनमा आफूहरूले जति काम गर्नु पर्ने हो त्यति काम गर्न नसकेको दाबी गरे । उनले कांग्रेसले माओवादीलाई दिएको धोकादेखि महासमिति बैठकमा कांग्रेसको पेश गरेको प्रतिवेदनसम्म प्रश्न गरेका थिए ।
‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, मैले समाचारमा पढेँ, कांग्रेसले मलाई राजनीति बेइमान गरेको निष्कर्ष निकाल्नु भयो भन्ने पनि पढेँ, यसलाई पनि मैले संक्षिप्तमा व्याख्या गरेँ,’ उनले भने, ‘आफूसँग हुँदा इमान अरूसँग जाँदा बेइमान भन्ने हुँदैन, यो राजनीतिक परिस्थिति, मुद्दामा निर्भर हुने कुरा हो, राजनीतिमा केही आशंका पैदा भएपछि यो भएकै हो ।’
उनले आफूलाई साथ दिने सबै दलहरूलाई शुभकामना दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सत्तामा बसेर काम गर्न आग्रह गरे ।