काठमाडौं । टिप्पणीकार धर्मेन्द्र जोशी सामाजिक सञ्जाल ट्वीटरमा लेख्छन्, “नवगठबन्धनपश्चात् देउवाजी र ओलाजी सर्वाधिक शक्तिशाली भएका छन्, प्रचण्डजी कमजोर भएका छन्, रविहरुको चम्किलो भविष्य धूमिल भएको छ, जुनसुकै बेला पनि प्रचण्डको पखेटा काटिने गरी तरबार अगाडि झुण्डिएको देखिन्छ, ‘फाइनल गेम’को तयारी शुरु भैसकेको छ ।”
जोशीको आंकलन जस्तै ‘फाइनल गेम’ कस्तो होला भन्ने सशंय सुरु भएको छ । विशेषगरी सत्ता गठबन्धनका चार दलबीच भएको आठ बुँदे सहमति र त्यसपछिका भागवण्डामा एमालेको भूमिकालाई लिएर प्रश्न उब्जिएको छ । जसलाई आधार बनाएर नयाँ गठबन्धनको आयुमाथि अड्कलबाजी सिर्जना गराएको छ । अहिलेको गठबन्धन माओवादी केन्द्रलाई पाखा राख्ने योजनामा केन्द्रीत भएको बुझाई धेरैको देखिन्छ ।
यहीबीच सतहमा कांग्रेसको सक्रियता पनि सामान्य खालको छैन । कांग्रेसले जे–जसरी नयाँ गठबन्धन निर्माणको थालनी गरेको छ, यसले पनि थुप्रै प्रश्नहरु उठाएको देखिन्छ ।
बिना मोलमोलाई एमालेको ‘इन्ट्री’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेला–बखत सार्वजनिकरुपमै भन्ने गरेका छन्, “काम गर्न एमाले असजिलो ।” प्रचण्डले विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीप्रति खुलैरै आलोचना गर्ने गरेको पाइन्छ । यसअघि दुई महिना गठबन्धन नटिक्नुमा पनि ओलीको ‘ओभरल्याप’ गर्ने शैली बढी जिम्मेवार भएको नेताहरुको टिप्पणी छ ।
यद्यपि, अहिले नयाँ समीकरण निर्माण हुँदै गर्दा भएका सहमतिलाई हेर्दा ओलीको लचकता ‘१८० डिग्रि’मा परिवर्तित देखिन्छ । योबीचमा ओलीले कुनै पनि कुरामा बारगेनिङ्ग वा अडान लिएनन् ।
आठ बुँदे सहमतिमा एमालेभन्दा माओवादी केन्द्र हाबी देखियो भने त्यसपछिका सत्ता बाँडफाँटमा पनि एमाले कमजोर देखियो ।
मन्त्रालय बाँडफाँटका सन्दर्भमा एमालेको भागमा निकै कम महत्वका मन्त्रालयहरु परेका छन् । गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, सामान्य प्रशासन, शहरी विकासजस्ता मन्त्रालय एमालेको भागमा परेको छैन ।
एमालेले किन कम महत्वका मन्त्रालय लियो भन्ने प्रश्न आम बनेको छ । राजनीतिक विश्लेषक मुकुन्द आचार्य ओलीको लचकताले प्रश्न उब्जाएको बताउँछन् ।
“एकातिर सुरुवाती सम्झौतालाई हेर्दा समग्रमा एमाले कमजोर देखियो, एमाले कहिँ कतै हाबी हुन सकेन, यो किन भयो भन्ने प्रश्न आफैंमा अहम् छ”, आचार्यले भनेका छन्, “ओली यस्ता सहज पात्र होइनन्, उनको पछिल्लो शैलीले प्रश्न उठाएको छ ।”
एमालेले कम महत्वका मन्त्रालय मात्रै लिएको छ, पाएको मन्त्रालयमा पनि कनिष्ठलाई अघि सारेको छ । जसमा एमालेको अर्के रणनीति झल्केको आचार्यको बुझाई छ ।
“एमालेभित्र यति धेरै प्रभावशाली नेता छन्, तर अहिले ओलीले निकै कनिष्ठलाई मन्त्रीको रुपमा अघि सारे, सचिवमा पनि सबैभन्दा कमजोर सचिवलाई नेतृत्व दिएर पठाए”, उनले भनेका छन्, “यसमा ओलीको अर्के रणनीति छ भन्ने झल्किन्छ ।”
यद्यपि, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अहिलेको गठबन्धन निर्माणमा मुख्य भूमिका भएको हिसाबले पनि एमालेले उच्च लचकता देखाएको बताउँछिन् । अहिलेको गठबन्धन पूर्ण कार्यकाल नै जाने उनको दाबी छ ।
“अहिले गठबन्धन निर्माणमा मुख्य भूमिका एमालेको हो, ठूलो दल भएको हिसाबले पनि सबैलाई मिलाएर लैजाने दायित्व एमालेको रहन्छ”, शाक्यले भनेकी छिन्, “आफैंले बनाएको गठबन्धन टिकाउनु पर्छ भनेरै एमालेले पूर्ण लचकता प्रदर्शन गरेको हो । अहिलेको सरकारलाई पूर्ण सफल बनाउनु पनि एमालेको उद्देश्य हो ।”
अहिलेको गठबन्धन बामपन्थी एकताको आधार बन्ने पनि उनको दाबी छ । राजनीतिक धुव्रिकरणको प्रभाव पनि बामपन्थीहरु एक ठाउँमा उभिन बाध्य बनेको उनले बताइन् । “बामपन्थीहरु एक नभई हुँदैन, अहिलेको गठबन्धन बामपन्थी एकताको आधार बन्नुपर्छ”, उनले भनेकी छिन्, “समग्र राजनीतिक धुव्रीकरण पनि बामपन्थी अनुकुल छ ।”
ठूला दल मिल्ने परिस्थिति
नयाँ गठबन्धन निर्माण भएसँगै राजनीतिक रुपमा कांग्रेस निकै सक्रिय बनेको छ । कांग्रेसले एकातिर समग्र राजनीति आफू अनुकुल बनाउने प्रयास थालेको छ भने अर्कोतिर बेग्लै गठबन्धन निर्माणको अभियान पनि चलाएको छ ।
कांग्रेसले तेस्रो दललाई किन नेतृत्व दिने भन्ने कोणबाट पनि बहस चलाउन थालेको छ । गठबन्धन बदलिएसँगै कांग्रेसका कतिपय नेताहरुले अब ठूला दल एक ठाउँमा आउने परिस्थिति बनेको बताउन थालेका छन् ।
कांग्रेस नेता डा. मिनेन्द्र रिजाल मुलुकलाई स्थिरता दिन पनि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउँछन् । पछिल्लो समीकरण फेरबदलले कांग्रेस–एमाले सँगै हुने परिस्थिति बनेको उनको भनाई छ ।
“राजनीतिलाई र देशलाई ठीक बाटोमा ल्याउने जिम्मा यी दुई दलको काँधमा छ, प्रचण्डलाई मूलधारमा ल्याएको पनि यीनै दलले हो र संविधान बनाएको पनि कांग्रेस एमालेले नै हो”, सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै रिजालले भनेका छन्, “देशलाई सही दिशामा लैजान पनि एमाले र कांग्रेस मिल्नैपर्छ, अब कांग्रेसले त्यो दिशामा मुलुकलाई लैजान एमालेसँग सघन संवाद गर्छ ।”
एमाले जे–जसरी बिना अडान प्रचण्डलाई सघाएको छ र जे–जसरी एमाले अध्यक्ष ओलीले मौनता देखाएका छन्, जसलाई हेर्दा ‘गेम फाइनल’ नभएको देखाउँछ । घटना बाँकी नै छन् ।