बालेनले बल्ल सुरू गराए स्रोतमै फोहर वर्गीकरण-Sutra News

बालेनले बल्ल सुरू गराए स्रोतमै फोहर वर्गीकरण

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चुनावअघि नै घाेषणा गरेकाे स्रोतमा नै फोहर वर्गीकरणको काम बल्ल सुरू भएकाे छ । कामपा-१० मा बिहीबारदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो ।



करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाने काम सुरु गरे पनि प्रभावकारी नभएपछि बिहीबारदेखि पुनः सुरु गरेको हो ।

लामो समयदेखि कामपा वडा नं १० को फोहर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहर संकलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । ‘स्रोतमा फोहर छुट्टयाएर कुहिने फोहरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ’, प्रमुख श्रेष्ठले जानकारी दिए।

कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिकरुपमा स्रोतमा नै फोहरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ । अब चाँडै २९ वडामा उक्त कार्य सुरु गरिने उनको भनाइ छ ।

घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं २७ मा माघ २१ देखि थालिएको हो । वडामा घरघरबाट वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै संकलन गर्ने गरिएको छ । कुहिने फोहरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने कार्य कामपाले सुरु गरिसकेको छ ।

के हो, फोहर वर्गीकरण ?

‘भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ’, विभागका प्रमुख श्रेष्ठले भने। उनका अनुसार मल बनाउन सकिएन भने कामपाको फोहर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन् ।

त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोटलहरू, फलामलगायत वस्तु नकुहिने फोहर हुन् ।

यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिइ), पञ्जा, फुटेका सिसा, घर आँगन बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ ।

यस्तो फोहर कुहिने र नकुहिने फोहर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्ने कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट