काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग फोन संवाद गरेका छन् । बिहीवार भएको फोन संवादमा नेपाल रुस सम्बन्धका विविध पक्षबाहेक रुसी सेनामा नेपाली नागरिकहरू रहेका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्री श्रेष्ठले रुसी सेनामा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउन र पीडितका परिवारलाई क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन अनुरोध गरेका छन्। मन्त्री श्रेष्ठले रुसी विदेशमन्त्रीलाई मृतकको शव फिर्ता गर्न र परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको सहजीकरण गरिदिन अनुरोध गरेको जनाइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले क्षतिपूर्ति दिने प्रक्रिया थालेकोमा रुसलाई धन्यवाद दिँदै त्यो चाँडो सम्पन्न गर्न अनुरोध गरेका थिए। रुसी मन्त्रीले नेपाली पक्षको सरोकार सम्बोधन गर्न आफ्नो मन्त्रालयको सहयोग हुने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुई मन्त्रीबीच छलफल भएको विषयलाई रुसले पनि पुष्टि गरेको छ । रुसको विदेश मन्त्रालयले भने उसको विज्ञप्तिमा रुसी सेनामा रहेका नेपालीबारे कुनै चर्चा गरेको छैन।
रुसी सेनामा गएका केही नेपालीले ज्यान गुमाएका छन् केही वेपत्ता भएका छन् । यसैगरी केही युद्धमा सहभागि भइरहेको समाचारहरु भइरहेका छन् । परराष्ट्र मन्त्रालयसँग हालसम्म १२ जनाको मृत्यु भएको औपचारिक तथ्यांक छ। तर, अन्यको पनि ज्यान गएको भन्ने चर्चा छ । तर, नेपालले मृतकको सब ल्याउन र बाँकी नेपालीलाई फिर्ता गराउन प्रयास गरेपनि सकिरहेको छैन ।