शिवरात्रीमा पथिल होलिडेज र ट्रीप टू टेम्पल्सद्वारा भारतीयलाई कैलाश मानसरोवर दर्शन-Sutra News

शिवरात्रीमा पथिल होलिडेज र ट्रीप टू टेम्पल्सद्वारा भारतीयलाई कैलाश मानसरोवर दर्शन

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रीप टू टेम्पल्स’सँगको समन्वयमा नेपालगञ्जबाट १५० जना भारतीय तीर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको छ ।



ट्राभल कम्पनीद्वारा श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो ।

माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपी र सैपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ ।

कोभिडअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिषा नदिएपछि यो रुट सुनसान बनेको छ । जसको सीधा असर सो रुटको पर्यटन व्यवसायमा परेको छ ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्ससम्म हेकिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे ।

मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले जानकारी दिए ।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए ।

माउन्टेन फ्लाइटका लागि १५० जना भारतीय पर्यटक बिहीबार नेपालगञ्ज आएर होटल सिद्धार्थमा बसेका थिए । उनीहरूलाई श्री एअरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो ।

शिव पार्वतीको घर देख्ने बाल्यकालदेखिको सपना पूरा भएको कर्नाटका भारतदेखि आएकी ३३ वर्षीया अरुणा यनले बताइन् ।

‘भिषा उपलब्ध भए पनि उमेरका कारण जान गाह्रो थियो । यसरी जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुशी छौँ,’ नयाँ दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले खुसी साटे ।

दर्जनौँ हिउँ चुचुरा पार गर्दै कैलाश पर्वत र मानसरोवरलाई नजिकबाट नियाल्दा कोही खुशीले भावविह्वल हुँदै रोइरहेका थिए । कोही चिच्याउँदै हर हर महादेव भन्दै थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट