काठमाडौं । सत्ता गठबन्धन परिवर्तनको प्रभावसँगै यो साताको पुँजी बजारमा पनि देखिएको छ । तीव्र उतार चढावबीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ ।
साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार ९६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार ३० दशमलव ५६ को बिन्दुमा पुगेको छ ।
सत्ता गठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक ११७ दशमलव ७० अंक अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मंगलबार भने उच्च अंकको गिरावट देखियो ।
मंगलबार परिसूचक ७० दशमलव ३१ अंकले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अंकले बढेको थियो ।
यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार ६९६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार ३९९ कित्ता शेयर मात्रै किनबेच भयो ।
मंगलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार ७५४ बराबरको एक करोड चार लाख दुई हजार ९४० कित्ता शेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार २५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार ४५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
बिहीबारको कारोबारपछि कूल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार ३९४ बराबर कायम भएको छ ।